आईसीसी टी–२० पुरुष विश्वकप: नेपालले आज विश्व विजेता इंग्ल्यान्डविरुद्ध खेल्दै।

काठमाडौं:= आईसीसी टी–२० पुरुष विश्वकप २०२६ मा नेपालले आज विश्व विजेता इंग्ल्यान्डविरुद्ध ऐतिहासिक खेलबाट यात्रा सुरु गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा नेपाल र  इंग्ल्यान्डबीचकाे खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

नेपाल लगातार दोस्रोपटक विश्वकप खेल्दैछ । कप्तान रोहित पौडेलको नेतृत्वमा नयाँ इतिहास रच्ने लक्ष्यमा छ । वाम अप खेलमा यूएई र क्यानडाविरुद्ध प्रभावशाली ब्याटिङ प्रदर्शन गरेको नेपाली टोली आत्मविश्वासका साथ मैदानमा उत्रिँदैछ ।समूह ‘सी’ मा रहेको नेपालका लागि इंग्ल्यान्ड र वेस्ट इन्डिज ठूला चुनौती हुन् ।

स्कटल्यान्ड र इटालीविरुद्ध पनि प्रतिस्पर्धा हुनेछ। इंग्ल्यान्डसँग नेपालको यो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल भएकाले खेल ऐतिहासिक मानिएको छ । विश्व क्रिकेटका दुई पटकका च्याम्पियन इंग्ल्यान्डसँगको भिडन्त नेपाली क्रिकेटका लागि अर्को ठूलो परीक्षा र अवसर हुनेछ ।