काठमाडौं := वरिष्ठ अभिनेता सुनिल थापाको निधनपछि परिवारको आग्रहमा उहाँको शव पोस्टमार्टम गरिने भएको छ। पोस्टमार्टमपछि मात्र अन्त्येष्टि गरिने परिवारको इच्छा रहेको कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयाे ।
उहाँका परिवारका सदस्यहरू शनिबार राति मुम्बईबाट नेपाल आइपुगेपछि पोस्टमार्टम गर्ने निर्णय भएको हो । थापाको शनिबार बिहान हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो। नेपाली र भारतीय चलचित्र उद्योगमा लामो समय सक्रिय रहेका थापाले ३ सयभन्दा बढी फिल्ममा अभिनय गर्नुभएकाे छ।
‘खलनायक’ भूमिकालाई समेत नायक सरह लोकप्रिय बनाएका थापा ‘राते काइँला’ नामले चर्चित हुनुहुन्छ, जुन पहिचान फिल्म ‘चिनो’ बाट बनाउनुभएकाे थियाे ।शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा नेपालमा एक्लै बस्दै आउनुभएकाे थियाे भने उहाँका परिवारका सदस्यहरू भारतको मुम्बईमा बस्दै आउनुभएकाे छ ।




















