क्वालालम्पुर (मलेसिया):= आप्रवासी कामदार तस्करीमा संलग्न एक गिरोहलाई ध्वस्त पार्दै मलेसियाको अध्यागमन विभागले राजधानी क्षेत्रमा गरिएको विशेष कारबाहीमा २२ जनालाई पक्राउ गरेको छ।
अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया शाबानका अनुसार पक्राउ परेकामध्ये दुई जना — एक मलेसियाली र एक बंगलादेशी — ‘सोजुल ग्याङ’ नामक तस्करी गिरोहका मुख्य सदस्य तथा ढुवानीकर्ता भएको आशंका गरिएको छ।
उहाँका अनुसार आइतबार (फेब्रुअरी १) दिउँसो करिब १:३० बजे Jalan Kuchai Lama क्षेत्रको एक सुपरमार्केट पार्किङमा दुईवटा सवारीसाधन रोकेर जाँच गर्दा सात जना बंगलादेशी (छ पुरुष र एक महिला) र एक जना म्यानमार नागरिक पक्राउ परेका थिए, जो अवैध रूपमा मलेसिया प्रवेश गराइएको विश्वास गरिएको छ।

त्यसपछि गरिएको अनुगमन कारबाहीमा कुचाई लामास्थित एक कन्डोमिनियममा छापा मार्दा थप १२ जना बंगलादेशी पुरुष पक्राउ परेका छन्। उनीहरू हालै छिमेकी देशबाट मलेसिया भित्रिएका र केलाङ क्षेत्रमा तथा दक्षिणी राज्यहरूतर्फ पठाइने तयारीमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
कारबाहीका क्रममा अध्यागमन अधिकारीहरूले दुईवटा सवारीसाधन, थुप्रै बंगलादेशी राहदानी, आरएम ८२,१०० नगद पैसा तथा युएस डलर ३,७०० (करिब आरएम १४,५९३) बरामद गरेका छन्।
सबै पक्राउ परेकालाई थप अनुसन्धानका लागि पुत्राजाया अध्यागमन डिपोमा राखिएको छ। घटनाको अनुसन्धान मानव बेचबिखन तथा आप्रवासी तस्करीविरुद्धको ऐन २००७ (एटिपसम), अध्यागमन ऐन १९५९/६३, अध्यागमन नियमावली १९६३ तथा राहदानी ऐन १९६६ अन्तर्गत भइरहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार गिरोह डिसेम्बरदेखि सक्रिय थियो र तेस्रो मुलुक हुँदै केलान्तानमार्गबाट अवैध रूपमा आप्रवासी मलेसिया भित्र्याउने कार्य गर्दै आएको थियो। प्रत्येक आप्रवासीबाट आरएम १२,००० असुल्ने गरेको र हालसम्म करिब आरएम १.२ मिलियन आम्दानी गरेको अनुमान गरिएको छ।
अध्यागमन विभागले आप्रवासन अपराध, राहदानी दुरुपयोग तथा मानव तस्करीमा संलग्न व्यक्ति वा गिरोहविरुद्ध कडा कारबाही जारी राख्ने चेतावनी दिएको छ।




















