एनआरएनएको १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फागुन ३० देखि चैत २ गतेसम्म हुने।

काठमाडौं:= गैरआवासीय नेपालीहरूसँग सम्बन्धित विषयमा सम्पर्क निकायको भूमिका निर्वाह गर्दै आएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ।

‘हाम्रो एकता, समृद्धिको आधार’ नाराका साथ हुने उक्त सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भइसकेको र समितिको सचिवालयका रूपमा सङ्घको सचिवालयले काम सुरु गरेको बताइएको छ ।

सन् २००३ मा “नेपालीका लागि नेपाली” भन्ने मूल नारासहित सुरु भएको गैरआवासीय नेपाली अभियानले विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै आएको छ। विदेशमा आर्जन गरिएको ज्ञान, सिप, पुँजी र प्रविधिलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा उपयोग गर्ने उद्देश्यका साथ स्थापना भएको संघ आज स्वदेश तथा विदेशमा बस्ने नेपालीहरूको आशा र भरोसाको केन्द्र बनेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

‘सङ्घको १० औँ र ११ औँ महाधिवेशनपछि संस्थाभित्र देखिएका सङ्गठनात्मक जटिलताहरूलाई आत्मसमीक्षा, संवाद र सहकार्यको बलमा चरणबद्ध रूपमा सम्बोधन गर्दै अन्ततः सन् २०२५ नोभेम्बर ३० मा प्रधानमन्त्री सुशीला कार्कीको रोहवरमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहितको उपस्थितिमा गैरआवासीय नेपाली संघभित्र ऐतिहासिक तथा बृहत् एकता सम्पन्न भएको तथ्य विदितै छ । यो उपलब्धिले संघको एकता, स्थायित्व र भावी यात्राप्रतिको सामूहिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको छु, विज्ञप्तिमा भनिएको छ ।

आगामी सम्मेलनमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, संविधानले प्रदान गरेका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सिप तथा प्रविधि हस्तान्तरण, महिला, युवा तथा दोस्रो पुस्ताका विषयमा विविध सत्रमार्फत छलफल हुनेछ। सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, गैरआवासीय नेपाली अभियन्ता तथा स्वदेशी–विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघको १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनमा सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई उत्साहपूर्ण सहभागिताका लागि आह्वान गर्नुका साथै सम्मेलन सफल बनाउन सञ्चारकर्मीहरूलाई समेत सहयोगका लागि विशेष अनुरोध गरेको छ।