काठमाडौं := आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरूले चुनावी लक्षित प्रचारप्रसारलाई तीव्रता दिएका छन् । निर्वाचनका लागि मतदान कार्य सुरु हुन डेढ महिना भन्दा कम समय बाँकी रहँदा मतदान प्रयोजनका लागि ६ माघमा उम्मेदवार मनोनयन दर्ताको काम सम्पन्न भइसकेको छ । मनोनयन दर्तासँगै राजनीतिक दल, राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरू मत माग्दै मतदाताको घरदैलोमा पुग्न थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा मनोनयन दर्तापछि पार्टी नेता/कार्यकर्ता र मतदातासँग छलफल गरेर काठमाडौं फर्किनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल पनि रुकुम पूर्वमा मनोनयन दर्ता गरेर केही दिन मतदातासँग भेटघाट गरेर राजधानी फर्किनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा-५ मा उम्मेदवारी दिएर पूर्वी पहाडी जिल्ला घुम्दै रास्वपाका नेता-कार्यकर्ता र मतदाता भेटघाट गरेर काठमाडौं फर्किनुभएको छ । पूर्वबाट शनिबार काठमाडौं फर्किनुभएका साह आज (सोमबार) सुदूरपश्चिमका जिल्ला जाँदै हुनुहुन्छ । कांग्रेस सभापति गगन थापाले आइतबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा जानुभएको छ । त्यहाँ रहँदा सभापति थापाले पार्टीको नेता/कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ । यीबाहेक अन्य राजनीतिक दलका उम्मेदवारहरूले पनि मतदातासँगको भेटघाटलाई तीव्रता दिन थालेका छन् ।
घोषणापत्र तयार नगर्दै राजनीतिक दलका उम्मेदवारहरूले भने चुनाव लक्षित घरदैलो सुरु गरिसकेका छन् । यसपटकको चुनावमा, राजनीतिक दल र उम्मेदवारहरूले डिजिटल माध्यमबाट चुनावी प्रचारलाई प्राथमिकता दिएका छन् । राजनीतिक दलहरूले चुनावी प्रचारप्रसार अभियानकै रूपमा अघि बढाइरहँदा उम्मेदवारहरू भने पार्टीको घोषणापत्रबिना नै चुनावी प्रचारमा जुटेका छन् । उम्मेदवारहरू मतदाताको माग र चासोलाई सुनिरहेका छन् । मतदान आउन डेढ महिनाभन्दा कम समय रहे पनि अहिलेसम्म कुनै पनि राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन् ।
के छ दलहरूको प्राथमिकता ?
निर्वाचनमा भाग लिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) लगायतका दलहरू घोषणापत्र निर्माणमा जुटिरहेका छन् । कांग्रेसले सभापति थापा, एमालेले अध्यक्ष ओली, नेकपाले नेता नारायणकाजी श्रेष्ठ, रास्वपाले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति बनाएर घोषणापत्र लेखिरहेका छन् । अन्य दल पनि टिम नै परिचालन गरेर घोषणापत्र तयारीमा जुटेका छन् । यसपटक महत्वाकांक्षीभन्दा पनि यथार्थपरक प्रतिबद्धता घोषणापत्रमा समेट्ने राजनीतिक दलका नेताहरूको दाबी छ ।
नेपाली कांग्रेस विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर चुनावमा होमिएको छ । कांग्रेसले पार्टी सभापति गगन थापाले भन्दै आएको ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ लाई नै मूल नीति बनाएर घोषणापत्र ल्याउने तयारी गरेको छ । नेकपा एमालेले घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय गन्तव्यलाई निरन्तरता दिएर घोषणापत्र ल्याउने तयारी गरेको छ । घोषणापत्र लेखन समितिका सदस्य प्रदीप ज्ञवालीले लोकतन्त्रलाई कसरी लयमा फर्काउने र राज्यलाई कसरी बलियो बनाउने ? भन्नेबारे घोषणापत्रमा स्पष्ट उल्लेख गर्ने जानकारी दिनुभएको छ ।
नेकपाले समाजवादी बाटोमा अघि बढ्ने लक्ष्यअनुरूप विषयवस्तु समेटेर घोषणापत्र तयार पार्ने नेताहरूले जानकारी दिएका छन् । जनतामा रहेको निराशालाई चिर्दै आर्थिक, सामाजिक रूपान्तरणसहित आशा जगाउने कार्यक्रम घोषणापत्रमा ल्याउने नेकपाका नेताहरूको भनाइ छ । रास्वपाले संविधानले व्यवस्था गरेका संरचनालाई नै बलियो बनाउने गरी पार्टी अगाडि बढ्ने नीति लिएर घोषणापत्र ल्याउने जनाएको छ ।
राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा घोषणापत्र तयारी समिति बनाएको छ । अभिभावकीय संस्थाका रूपमा राजसंस्था, धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था घोषणापत्रका मुख्य विशेषता रहने राप्रपाले जनाएको छ । जनमत पार्टीले देशलाई वर्तमान अवस्थाबाट निकास दिने नीति र कार्यक्रम ल्याउने गरी घोषणापत्र तयार भइरहेको जनाएको छ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले जलविद्युत्, पर्यटन, कृषि लगायतका क्षेत्रमा विकास गर्ने नीतिसहित घोषणापत्र ल्याउने तयारी गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समानुपातिक र समावेशिता, संघीयता, प्रदेश संरचना बलियो बनाउने, स्थानीय तहलाई थप सबल बनाउने नीतिसहित घोषणापत्र ल्याउने तयारी गरेको छ ।
चुनावी घोषणापत्रमा दलहरूको राजनीतिक तथा नीतिगत दृष्टिकोण, मुलुकको आर्थिक-सामाजिक सुधारका योजना र मतदातासँगको प्रतिबद्धता हुन्छ । तर, प्रतिबद्धता एउटा हुने, व्यवहार अर्को गर्ने राजनीतिक दलहरूको प्रवृत्तिका कारण मतदाताले पनि घोषणापत्रप्रति चासो देखाएको भने पाइँदैन । राजनीतिक दलले जनतासामु सार्वजनिक रूपमा प्रस्तुत गर्ने लिखित प्रतिबद्धता र कार्ययोजना नै घोषणापत्र हो । निर्वाचनमा जितेर सत्ता र शक्तिमा पुगेपछि के कस्ता काम गर्छौँ, निश्चित समयभित्र देशलाई कुन दिशामा लैजान्छौँ ? भन्नेमा दलहरूको योजना घोषणापत्रमा समेटिएको हुन्छ । निर्वाचन आयोगले जारी गरेको तथ्यांकअनुसार ६८ वटा राजनीतिक दलले चुनावमा भाग लिन मनोनयन दर्ता गर्दै उम्मेदवार उठाएका छन् ।
यस्तै, एक हजारभन्दा बढी स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । यसपटक राजनीतिक दलहरूले पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीको रूपमा नेताहरूलाई अघि सारिसकेका छन् । कांग्रेसले सभापति गगनकुमार थापा र रास्वपाले वरिष्ठ नेता बालेन्द्र साहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । प्रधानमन्त्रीका भावी उम्मेदवार कसैले पनि प्रधानमन्त्री भएपछि गर्ने योजनासहितको प्रतिबद्धतापत्र अहिलेसम्म ल्याएका छैनन् ।




















