काठमाडौं:= अभिनेता सलमान खान अभिनित चलचित्र ‘ब्याटल अफ गलवान’ को गीत शनिबार सार्वजनिक भएको छ। ‘मातृभूमि’ बोलको उक्त गीतमा नेपाली अभिनेता अनुपविक्रम शाही पनि सलमान खानसँगै देखिनुभएको छ ।
देशभक्तिको भावना समेटिएको उक्त गीतमा अनुपविक्रम सलमानसँग एउटै फ्रेममा देखिनुभएको हो। केही समयअघि अनुपविक्रमको विषयमा सललमानसँग चलचित्र खेल्दै भनेर समाचार आएको थियो । अहिले भने उहाँ सो गीतमा सलमानसँगै देखिनुभएको हो । गीतमा अरिजित सिंह, श्रेया घोषाल र मणि धर्मकोटको स्वर छ ।
सलमान खान फिल्मस्को प्रस्तुति रहेको यो चलचित्र अपूर्व लाखियाले निर्देशन गर्नुभएको हो । चलचित्र सन् २०२० मा गलवान क्षेत्रमा भारत र चिनियाँ सेनाबीच भएको झडपको कथावस्तुमा आधारित छ ।
चलचित्रमा सलमान खान, चित्रांगदा सिंहको मुख्य भूमिका छ। चलचित्रमा नेपाली अनुपसँगै स्वर्गीय गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय छ । ‘ब्याटल अफ गलवान’ १७ अप्रिल (वैशाख ४) देखि प्रदर्शनमा आउनेछ ।




















