काठमाडौं := नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी सभा मधेस प्रदेशबाट सुरु गर्ने भएको छ । कांग्रेसले यही माघ १६ गते शहीद दिवसको अवसर पारेर जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको हो । चुनावी सभालाई पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ ।
कांग्रेसले उपसभापति शर्मालाई चुनावी प्रचारप्रसार केन्द्रीय समितिको संयोजक बनाएको छ । जनकपुरमा हुने सभाका लागि केन्द्रीय तहबाट उपसभापति शर्माले नै संयोजन गर्ने बताइएको छ । सभाको तयारीको प्रदेश समितिले आवश्यक तयारी सुरु गरिसकेको मधेसका प्रचार संयोजक नितेशकुमार गुप्ताले जानकारी दिनुभएको छ ।
माघ १६ गते हुने बृहत् सभामा लाखौँ मान्छे सहभागी हुने गुप्ताको दाबी छ । यसपटकको निर्वाचनमा दलहरूले मधेसलाई केन्द्र बनाएर आफ्ना निर्वाचन गतिविधिहरू सक्रिय बनाएका छन् । कांग्रेस सभापति थापा सर्लाही-४ बाट उम्मेदवार बन्नुभएको छ । यसअघि जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी सभा गरेको थियो । जनकपुरको सभाबाटै काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन साहले औपचारिक रूपमा चुनावी सभामा सम्बोधन गरेका थिए ।
आँट गरेर मधेस झरेको हुँ : सभापति थापा
कांग्रेस सभापति गगन थापाले काठमाडौं-४ मा आफूले सहजै जित निकाल्ने अवस्था भए पनि मधेस झरेको बताउनुभएको छ । सर्लाही–४ मा युवाहरूसँगको छलफलमा सभापति थापाले काठमाडौं-४ मा आफ्नो प्रतिस्पर्धी नै नभएको जिकिरसमेत गर्दै भन्नुभयो, ‘मैले यसअघि तीनपटक चुनाव जितिसकेको थिएँ, मलाई सजिलो अवस्था थियो । मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने कुराको टुंगो नलागेसम्म अरू प्रतिस्पर्धी पार्टीहरूले उम्मेदवार बन्ने मान्छे नै पाएन । म काठमाडौं नलड्ने भनेपछि मात्रै नयाँ होस् वा पुरानो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता भयो ।’ आफू सर्लाही ४ मा झरेपछि काठमाडौंका मतदाता स्तब्ध बनेका उल्लेख गर्दै सभापति थापाले भन्नुभयो, ‘मैले काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन । तर, म आफैँले चाहिँ जानेर बुझेर नै सर्लाही-४ रोजेको हुँ । मैले अघिल्लोपटक नै मधेस झर्न चाहेको थिएँ । अहिले आँट गरेर आएको हुँ ।’ कांग्रेसको सभापति भएपछि मधेसलाई नजोडी नहुने भएकाले आफ्नो जोड मधेसमा रहेको उहाँको स्पष्टोक्ति छ । आफू मधेस नझरी कांग्रेस ठूलो पार्टी बन्न नसक्ने बुझाई आफूमा रहेको सभापति थापाको बुझाई छ । कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा आज (आइतबार) सर्लाही जाँदै हुनुहुन्छ । सभापति थापाले शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही-४ का युवासँगको अन्तरक्रियामा भन्नुभयो, ‘भोलि म सर्लाही जाँदै छु । पटक/पटक म गएको छु, क्षेत्र नम्बर ४ मा । तर, पोलिटिकल कार्यक्रममा गएको छु । योपटक म उम्मेदवार बनेर जाँदै छु । मेरो मनमा एकदमै धेरै एक्साइटमेन्ट (उत्साह) छ । म जीवनको अत्यन्तै ठूलो राजनीतिक निर्णय गरेर सर्लाही-४ आएको छु, तपाईंहरूको भर परेर ।’ सभापति थापाले अन्तरक्रियामा सहभागी युवालाई निर्वाचनका बेला सर्लाही गइदिन पनि आग्रह गर्नुभएको छ । सभापति थापालाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको थियो । उपसभापति विश्वप्रकाश शर्माले अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा राखेको उक्त प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको थियो ।




















