आईसीसीले बंगलादेशलाई टी–२० विश्वकप २०२६ बाट हटायो, स्कटल्यान्डलाई विश्वकपमा अवसर।

एजेन्सी := अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेशलाई टी–२० विश्वकप २०२६ बाट हटाएको छ। भारतमा आयोजना हुने विश्वकपमा खेल्न जान बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले अस्वीकार गरेपछि आईसीसीले यस्तो कडा निर्णय लिएको हो ।

बीसीबीले भारतमा सुरक्षा चुनौती रहेको दाबी गर्दै प्रतियोगिताका आफ्ना खेलहरू भारतबाहिर, विशेषगरी श्रीलंकामा सार्न माग गरेको थियो । तर आईसीसीले भारतमा आवश्यक सुरक्षा व्यवस्था पर्याप्त रहेको निष्कर्ष निकाल्दै बंगलादेशको माग अस्वीकार गर्‍यो । त्यसपछि पनि बंगलादेशले भारतमा खेल्न नजाने अडान नछाडेपछि आईसीसीले प्रतियोगिताबाट नै हटाउने निर्णय गरेको हो ।

आईसीसी स्रोतका अनुसार, बहुराष्ट्रिय प्रतियोगितामा कुनै पनि सदस्य राष्ट्रले आयोजक देशको निर्णय अस्वीकार गर्नु प्रतियोगिताको नियम र मर्मविपरीत हुने भन्दै बंगलादेशलाई सहभागी नगराउने निर्णय गरिएको हो । आईसीसीले यस विषयमा बंगलादेशलाई पटक–पटक स्पष्टिकरणका लागि समय दिए पनि सहमति जुट्न सकेन ।

बंगलादेशको स्थानमा स्कटल्यान्डले टी–२० विश्वकप २०२६ मा खेल्ने अवसर पाएको छ। स्कटल्यान्ड विश्वकप छनोट प्रक्रियामा सहभागी टोलीहरूमध्ये दोस्रो उच्च वरियतामा रहेको टोली हो । लामो समयदेखि विश्वकपमा नियमित स्थान बनाउन संघर्ष गरिरहेको स्कटल्यान्डका लागि यो निर्णय ऐतिहासिक अवसरका रूपमा हेरिएको छ ।