एकजुट भएर निर्वाचनमा जानुको विकल्प छैन: सभापति गगन कुमार थापा।

काठमाडौं := कांग्रेस सभापति गगनकुमार थापाले पार्टीका उम्मेदवार चयनमा केही कमजोरी भएको भन्दै आगामी दिनमा यस्तो नहुने दाबी गर्नुभएको छ । केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकारसँग कुरा गर्दै थापाले माघ ४ गते उम्मेदवार छान्न थाल्नु र ६ गते दर्ता गर्नुपर्ने दबाबका कारण केही कमजोरी भएको स्वीकार्दै त्यसको जिम्मेवारी आफूले लिने बताउनुभएको हो ।

सभापति थापाले भन्नुभयो, ‘विशेष महाधिवेशनमा पेस गरेको दस्ताबेजअनुसार उम्मेदवार चयन गर्न सकिएन । अर्को पटकदेखि तलै मतदान गरेर चयन गरिनेछ । माघ ४ गते उम्मेदवार छान्न सुरु गरेर ६ गते दर्ता गर्नुपर्ने अवस्था भएकाले चाहेर पनि उम्मेदवारी छनोटमा समावेशी र सन्तुलन मिलाउन सकिएन ।’ पार्टीका आकांक्षीहरूसँग सल्लाह नगरी गर्नुपर्ने बाध्यतामा परेकाले कमजोरी भएको स्वीकार गर्दै थापाले भन्नुभयो, ‘व्यक्तिगत र संस्थागत रूपमा कमजोरीलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्दछु । भएका कमजोरीमाथि फेरि पनि छलफल गर्न सकिन्छ, अब एकजुट भएर निर्वाचनमा जानुको विकल्प छैन ।’

उहाँले २०७९ सालमा कांग्रेसमा २७ लाखले मतदान गरेको भन्दै यसपटक अनुकूल परिस्थिति पनि भएको दाबी गर्नुभयो। विगतमा कांग्रेस भएर रूखमा मात्र मत माग्न आउनु भनी मतदाताले भनेकाले यसपटक १६५ क्षेत्रमै रूखमा मात्र मतदान गर्न पाउने उहाँले स्पष्ट पार्नुभयो ।

कांग्रेसलाई आफूहरूले बदलेको भन्दै सभापति थापाले हिजोको कांग्रेसभन्दा अब फरक भएको दाबी गर्दै भन्नुभयो, ‘पुरानो सबै खराब भन्ने होइन तर सुधार हुनुपर्ने कुराको सुरुवात भएको छ । हामी सहजै रूपमा यहाँ आएका होइनौँ । अहिलेको अवस्था सजिलो छैन। २४ घण्टाभन्दा कम समयमा निर्णय गर्नुपरेको कुरा सबै पार्टीका नेता र कार्यकर्ताले बुझेर एकजुट हुनुको विकल्प छैन।’ सभापति थापाले पार्टीका उम्मेदवार चयन र त्यस क्रममा भएका प्रयासहरूबारे केन्द्रीय समितिमा ब्रिफिङ गर्नुभएको थियो ।

बदलिएको कांग्रेसले देशलाई बदल्ने दाबी

सभापति थापाले सभापतिको कुर्सीमा बस्न सजिलो भए पनि जिम्मेवारी बहन गर्न चुनौतीपूर्ण रहेको बताउनुभएको छ । विशेष महाधिवेशन आफ्नो बारेमा सोचेर मात्रै नभएर नागरिकको सम्मान गरेर गरेको उहाँको जिकिर छ । सभापति थापाले देश र राज्य ठीक ढंगले नचलेकोले आम नागरिकमा ठूलो आक्रोश रहेको बताउनुभयो ।

कांग्रेस आफैँ नभएर आफूहरूले बदलेको उल्लेख गर्दै थापाले भन्नुभयो, ‘यो कांग्रेस आफैँ बदलिएको होइन, हामीले कांग्रेस बदलियौँ, यो बदलिएको कांग्रेसले देशलाई बदल्छ भन्ने संकल्पका साथ नेपाली कांग्रेस निर्वाचनमा होमिएको छ । १० लाख बढी क्रियाशील सदस्यहरूलाई भन्छु, कांग्रेस निर्वाचनमा होमिएको छ, पार्टीभित्र पनि भिन्न भिन्न मत छन्, तर निर्वाचनपछि फेरि खुला हृदयले छलफल गरौँला ।’