काठमाडौं := नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । पार्टी मुख्यालय सानेपामा शुक्रबार बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले भावी प्रधानमन्त्री थापालाई तोकेर निर्वाचनमा होमिने निर्णय गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेर जाने निर्णय गरेको हो। केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । शर्माको प्रस्तावलाई बैठकले पारित गरेको हो । उपसभापति शर्माले गगनले परिवर्तित समय र स्वरलाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्नसक्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी दिँदै उपसभापति शर्माले भन्नुभयो, ‘जुझारु विद्रोही छवि मात्रै होइन, प्रतिकूल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता पनि छ गगन थापासँग । उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हो न दीर्घजीवी । संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने सामथ्र्य गगन थापासँग छ । यो समग्र अठोटको बलियो कमाण्ड प्रधानमन्त्रीका रूपमा हाम्रो सभापतिबाट हुनसक्छ भन्नेमा हामी दृढ ढंगले प्रष्ट छौँ ।’
प्रधानमन्त्रीको उम्मेदवार घोषणापछि मतदातालाई भोलिको अन्योलताबाट मुक्ति मिल्ने पनि उपसभापति शर्माको प्रस्तावमा उल्लेख छ । उपसभापित शर्माले ‘जेन-जी’ आन्दोलनपछिको परिवर्तनलाई आत्मसात गरी उनीहरूको मुद्दालाई स्वामित्व लिएर मुलुकमा सुशासन स्थापित गर्ने संकल्प र योजना पार्टीको विशेष महाधिवेशनले लिएको बताउनुभएको छ । बैठकपछि पार्टी देवराज चालिसेले भन्नुभयो, ‘देशको प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा मतदातालाई सजिलो होस् भनेर यस्तो निर्णय गरिएको हो ।’ मुलुकको विशिष्ट परिस्थितिको मागलाई सही ढंगले सम्बोधन गर्ने जमर्कोको रूपमा लिन कांग्रेसले आग्रह गरेको छ ।
यी हुन् प्रधानमन्त्रीको उम्मेदवार बनाउने आधार
नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानुपर्नेमा सातवटा कारणसमेत प्रस्तुत गरेको छ । केन्द्रीय समिति बैठकमा सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गर्नेबारे उपसभापति शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावमा यसलाई विशिष्ट परिस्थितिको माग भन्नुभएको छ । प्रस्तावमा भनिएको छ, ‘सामान्यतया निर्वाचनपछि मात्रै प्रधानमन्त्री पदका लागि व्यक्ति अघिसार्ने प्रचलन रही आएको हो । तर, नेपाली कांग्रेसले चुनावी अभियानकै क्रममा आफ्नो उम्मेदवार प्रस्तुत गर्ने तयारी गर्नुको अर्थ मुलुकको विशिष्ट परिस्थितिको मागलाई सही ढंगले सम्बोधन गर्ने जमर्को हो ।’ गगन थापाले परिवर्तित समय र स्वरलाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्नसक्ने विश्वास कांग्रेसले लिएको छ ।
चौथो कारणमा प्रधानमन्त्रीमा खोजिने परिपक्वता गगन थापामा रहेको उल्लेख गर्दै प्रस्तावमा भनिएको छ, ‘जुझारु विद्रोही छवि मात्रै होइन, प्रतिकूल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता पनि छ गगन थापासँग । उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हो न दीर्घजीवी । देशको प्रधानमन्त्री बन्ने व्यक्तित्वले त झनै आवेगलाई होइन, संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने हुन्छ । त्यो सामथ्र्य राख्ने व्यक्तित्व हामीले प्रधानमन्त्री पदका लागि सर्वाधिक उपयुक्त भनेर अघि सारेका छौँ ।’
उपसभापति शर्माले राखेको प्रस्तावमा सभापति थापा विगतको लोकतान्त्रिक संघर्षमा सबल र तत्पश्चातको सत्तामा अब्बल प्रमाणित भएको दाबी गरिएको छ । ‘जेन-जी’ विद्रोहको परिवर्तनको सम्बोधन गर्नको लागि योग्यता, क्षमता र भिजनको आधारमा सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारिएको प्रस्तावमा उल्लेख छ । अन्य पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवारभन्दा कांग्रेसले अघि सारेको योग्य रहेको जिकिर पनि गरिएको छ । भावी प्रधानमन्त्रीको रूपमा एमालेले अध्यक्ष केपी ओली, रास्वपाले वरिष्ठ नेता बालेन साहलाई अघि सारेको छ ।



















