नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज।

काठमाडौं := नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । कैलाली क्षेत्र नम्बर १ बाट नाउपा नेपालका संरक्षक चौधरीको उम्मेदवारी दर्ता भएको थियो । ‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम प्रतिनिधिसभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानुनबमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिँदा खारेज गरिदिएको छ ।

कानुनबमोजिम गर्नू’, निर्वाचन अधिकृतले गरेको निर्णयमा उल्लेख छ । निर्वाचन अधिकृत देवराज भारतीले उम्मेदवारी खारेज गर्ने निर्णयमा मुख्यगरी तीन आधार समातिएको बताउनुभयो । ‘सर्वोच्च अदालतको फैसलाबाट जन्मकैदको सजाय भएको देखियो । जन्मकैदको सजाय भएको व्यक्ति उम्मेदवार बन्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार अयोग्यताको कारण बन्छ’, भारतीले भन्नुभयो, ‘त्यसबाहेक राजनीतिक दलको सदस्य हुनसमेत अयोग्य भएको भनेर यसअघि निर्वाचन आयोगले गरेको निर्णयलाई पनि हामीले आधारका रुपमा लिएका छौँ । साथै उहाँले कैद माफी पाएको तर सजाय उस्तै रहेको देखियो ।’

उम्मेदवारी खारेजको निर्णयअघि चौधरीले भने आफूविरुद्ध परेको उजुरीमा स्पष्टीकरण दिनुभएको थियो । राष्ट्रपतिबाट संविधानबमोजिम आंशिक नभई पूरा माफी पाएको उल्लेख गर्दै उहाँले आफूलाई माफी दिने पत्रमा समेत १९ जनालाई माफी दिइएको बताउनुभएको थियो । उहाँले भन्नुभएको छ, ‘हामीलाई अदालतबाट भएको कैद सजाय माफी दिइएको भनिएको छ । कैद सजाय माफी भएपछि पूरै सजाय माफी हो । आंशिक होइन । आंशिक माफीबाट आपराधिकता नमेटिने व्याख्या छ । मेरो माफीको पत्रमा बाँकी कैद माफी भन्ने नभई फैसलाबमोजिम लागेको कैद सजाय माफी भन्ने शब्द परेकाले आंशिक नभई पूरा माफी हो ।’

टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिशमा राष्ट्रपतिबाट आममाफी पाउनुभएको थियो । तर, प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन् । २०७९ को चुनावमा पनि रेशम बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवार हुनुभएको थियो । त्यसबेला उहाँको उम्मेदवारी खारेज भएको थियो भने उहाँ त्यसबेला जेलमा हुनुहुन्थ्यो । त्यसपछि उहाँका बुवा लालवीर चौधरी बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार हुनुभएको थियो । पछि उहाँ नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नुभएको थियो । लालवीर अहिले नाउपा नेपालमा हुनुहुन्छ ।