“पासपोर्ट उडान” प्रकरण: ४१ इमिग्रेशन अधिकारीमाथि कारबाही, २० जनालाई जागिरबाट बर्खास्त।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (इमिग्रेशन) ले ‘पासपोर्ट उडान’ प्रकरणमा संलग्न भएको पाइएपछि सन् २०२२ देखि २०२५ को अवधिमा ४१ जना अधिकारीमाथि अनुशासनात्मक कारबाही गरिएको पुष्टि गरेको छ। तीमध्ये २० जनालाई सेवाबाट बर्खास्त गरिएको अध्यागमन विभागले जनाएको छ।

अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया शाबानले कुआलालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) टर्मिनल १ मा भएको कथित ‘पासपोर्ट उडान’ गतिविधिसम्बन्धी अख्तियार निकाय (EAIC) को अनुसन्धान प्रतिवेदनपछि आवश्यक कारबाही अघि बढाइएको बताए।

उनका अनुसार सबै कारबाही सार्वजनिक सेवा नियम तथा प्रचलित अनुशासनात्मक प्रक्रियाअनुसार गरिएको हो।जकारियाले अध्यागमन विभागले कुनै पनि प्रकारको दुराचार, विशेषगरी सार्वजनिक विश्वास र संस्थागत इमान्दारितामाथि आँच पुर्‍याउने कार्यलाई कदापि सहन नगर्ने स्पष्ट पारे।

उनले EAIC बाट प्राप्त सबै उजुरी र सिफारिसहरू गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक कदम चालिने पनि बताए। उनका अनुसार विभागले भविष्यमा यस्ता घटना नदोहरिन आन्तरिक निगरानी प्रणालीलाई थप सुदृढ बनाउने, कार्यविधि (SOP) को कडाइका साथ पालना गराउने र सुशासन तथा पारदर्शितालाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।