क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग “इमिग्रेशन” ले राजधानी क्वालालम्पुरका विदेशी नागरिकको बढी आवतजावत हुने दुई प्रमुख व्यावसायिक क्षेत्रमा विशेष अपरेसन सञ्चालन गर्दै २१७ जना अवैध आप्रवासी (PATI) पक्राउ गरेको छ।
इमिग्रेशन विभागका अनुसार, कम्प्लेक्स कोताराया र ग्यालेक्सी अम्पाङ मलमा गरिएको अपरेसन बिहान ११ बजे सुरु भएको थियो। उक्त अपरेसनमा पुत्राजया इमिग्रेशन मुख्यालयका १२० जना अधिकारी तथा राष्ट्रिय दर्ता विभाग (JPN) का १३ अधिकारी सहभागी थिए। अपरेसनको नेतृत्व इमिग्रेशन विभागका उप–महानिर्देशक (अपरेसन) दातुक लोकमान एफेन्दी राम्लीले गरेका थिए।

जम्मा १,५३० जना मानिसको जाँच :
पहिलो छापामा कम्प्लेक्स कोतारायामा :
• ६५२ विदेशी नागरिक
• २२४ स्थानीय नागरिक
गरी कुल ८७६ जनाको जाँच गरिएको थियो।
दोस्रो छापामा ग्यालेक्सी अम्पाङ मलमा
• ३९४ विदेशी नागरिक
• २६० स्थानीय नागरिक
गरी ६५४ जनाको जाँच गरिएको थियो।
दुवै अपरेसनमा कुल १,५३० जनाको जाँच गरिएको इमिग्रेशन विभागले जनाएको छ।
९ देशका २१७ अवैध आप्रवासी पक्राउ परेका छ्न । पक्राउ पर्नेमा म्यानमार, फिलिपिन्स, इन्डोनेसिया, भारत, नेपाल, बंगलादेश, पाकिस्तान, नाइजेरिया र जर्मनीका २१७ विदेशी नागरिक रहेका छन्। पक्राउ परेकाहरूको उमेर २१ देखि ६३ वर्ष बीच रहेको छ।
विभिन्न इमिग्रेशन कसुर
इमिग्रेशन विभागका अनुसार, पक्राउ गर्नुको कारण :
• परिचयपत्र नहुनु
• पासका सर्त उल्लङ्घन गर्नु
• म्याद सकिएपछि पनि बसोबास गर्नु
• मान्यता नपाएका कार्ड प्रयोग गर्नु
लगायत इमिग्रेशन ऐन उल्लङ्घन गरेका थिए।
अपरेसनका क्रममा मलेसिया प्रवेश–प्रस्थान छाप (स्ट्याम्प) अनियमित भएको, साथै नक्कली MyKad भेटिएको जनाइएको छ। नक्कली MyKad लाई थप अनुसन्धानका लागि **राष्ट्रिय दर्ता विभाग (JPN)**लाई बुझाइएको छ।
कारबाही निरन्तर जारी
इमिग्रेशन विभागले इमिग्रेशन ऐन १९५९/६३, पासपोर्ट ऐन १९६६, इमिग्रेशन नियमावली १९६३ तथा मानव बेचबिखन र आप्रवासी तस्करी विरोधी ऐन २००७ अन्तर्गत कानुन उल्लङ्घन गर्ने विदेशी नागरिकलाई पहिचान, पक्राउ, अभियोग, तथा देशनिकाला गर्ने कारबाही निरन्तर जारी रहने स्पष्ट पारेको छ।
अवैधानिक संरक्षण नगर्न चेतावनी
JIM ले आम नागरिक र रोजगारदातालाई अवैध आप्रवासीलाई संरक्षण नगर्न कडा चेतावनी दिँदै, यस्ता कार्यमा संलग्न भए कानुनी कारबाही हुने जनाएको छ।
अवैध आप्रवासीसम्बन्धी जानकारी भए सिधै इमिग्रेशन विभागलाई जानकारी दिन सर्वसाधारणलाई आग्रह गरिएको छ।




















