[ तिलोचन गौतम ]
क्वालालम्पुर:= प्रवासी नेपाली थारु समुदायको साझा माउ संस्था “थारु कल्याणकारीणि सभा” मलेसियाले सधैंझैँ यस वर्ष पनि आफ्नो दशौँ वार्षिक उत्सव तथा थारु समुदायको महान पर्व माघीको शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
थारु कल्याणकारीणि सभा मलेसियाका सभापति प्रकाश कुमार चौधरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बु प्रमुख अतिथि तथा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष किसान गुरुङ विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, आपसी भलाकुसारी तथा थारु समुदायका परम्परागत खानाका परिकारहरूको समेत व्यवस्था गरिएको थियो। सम्पूर्ण कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी थारु कल्याणकारीणि सभा मलेसियाका संस्थापक/संरक्षक तथा सञ्चारकर्मी घनश्याम चौधरी (आरएन)थारुले दिनुभयो।

कार्यक्रममा मलेसियामा क्रियाशील विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता, बुद्धिजीवी, श्रमिक तथा थारु समुदायका अगुवा व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले माघी पर्वको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वमाथि चर्चा गर्दै एकआपसमा शुभकामना साटासाट गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि इन्द्र नारायण लिम्बुले माघी पर्वलाई समग्र आदिवासी जनजाति समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको उल्लेख गर्दै यसको महत्वलाई विशेष रूपमा हेरिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

वक्ताहरूले प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति, भाषा, पहिचान र परम्पराको संरक्षण गर्दै आएको थारु कल्याणकारीणि सभा मलेसियाको भूमिकाको प्रशंसा गर्दै, आपसी एकता, सहकार्य र सामाजिक सेवामार्फत समुदायको हकहित संरक्षणमा निरन्तर लागिरहनुपर्नेमा जोड दिएका थिए।

संस्थालाई थप मजबुत बनाउँदै लग्ने क्रममा थारु कल्याणकारीणि सभा मलेसियाले नवप्रवेशी १० जना सदस्यहरूलाई औपचारिक रूपमा प्रमाणपत्र वितरणसहित स्वागत तथा सम्मान समेत गरेको थियो। पदाधिकारीहरूले आगामी दिनहरूमा सामाजिक, सांस्कृतिक तथा मानवीय सेवाका कार्यक्रमहरूलाई सबैको सहकार्यमा अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका पुर्व अध्यक्ष बिपिन राई , एनआरएनए मलेसिया महिला संयोजक इन्दु बस्नेत , प्रवासी नेपाली मञ्च मलेसियाका वरिष्ठ उपाध्यक्ष साहित्यकार जीवन देवान गाउँले , नेपाली फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष सन्तोष भट्ट , ब्यावसायी एवं खेलाडी रुपा लिम्बू , नेपाली जनसम्पर्क समिति मलेसियाका उपसभापति गणेश राउतलगायत सहभागी अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।




















