काठमाडौं := निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नव निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार साँझ कांग्रेसको दुवै पक्षबाट पेश भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै आधिकारिक भएकाे बताउनुभएकाे हाे। साेही विवरण आयोगमा अद्यावधिक गर्ने निर्णय गरेको समेत उहाँले बताउनुभयाे ।
आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले पक्षमा र एक जनाले विपक्षमा राय दिँदा बहुमतका आधारमा निर्णय गरिएको हो। प्रमुख निर्वाचन आयुक्त भण्डारी र निर्वाचन आयुक्त जानकी तुलाधरले दिने पक्षमा निर्णय दिएका थिए । अर्का आयुक्त सगुन शमशेर राणा विपक्षमा निर्णय दिने पक्षमा रहनुभएकाे जनायएकाे छ ।
यो निर्णय दिने क्रममा आयोगले तीन आधार तय गरेको छ ।
पहिलो आधारका रूपमा आयोगले विधान बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने र सोअनुसार महाधिवेशन आयोजना गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहेको स्पष्ट पारकोे छ ।
दोस्रो आधारको रूपमा आयोगले विधानत: महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि हुने स्पष्ट पारेको छ ।
यस्तै, तेस्रो आधारका रूपमा आयोगले विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नदेखिएकोले विशेष महाधिवेशन आयोजना विधानत: भएको स्पष्ट पारेको छ ।




















