अब ५० वर्षमुनिको युवाले कांग्रेस हाँक्छ, एकताबद्ध भएर अघि बढौँ: उपसभापति शर्मा।

काठमाडौं := नेपाली कांग्रेसका नव निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले अब सबै आवेग विर्सेर एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार निर्वाचन आयोगले पार्टी सभापति गगन थापालाई आधिकारिकता दिएसँगै उनले यस्तो बताएका हुन् ।

“अब पुरानो आवेगका कुराहरूलाई विर्सनुपर्छ । सबै एकताबद्ध भएर अघि बढनुपर्छ,” शर्माले भने । उनले यसलाई नवीन नेपालका लागि नवीन कांग्रेसको सुरुआत भएको बताए। उनले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेहरूमा अब दरार राख्न नहुने बताए । शर्माले पटक-पटक आवेग राख्न नहुने बताए । उनले बदलिनेहरूले नै बदल्न सक्ने भएकाले पुरानो च्याप्टर छाड्नुपर्ने बताए ।

शर्माले ५० वर्षमुनिको नेता गगन थापाले अब कांग्रेस हाँक्ने बताएका छन् ।‘तपाईंको आफ्नो घर नवीन बन्दै छ । कांग्रेस अब ५० वर्ष मुनिको युवाले हाँक्दै हुनुहुन्छ । नागरिकको वाणी बोल्नेगरी कांग्रेसले तागत बटुल्नेछ,’ शर्माले भने, ‘आउनुस् सबै मिलेर यो पार्टीलाई अगाडि बढाउँ ।’

दुवै पक्षले आधिकारिकता दाबी गरे पनि शुक्रबार निर्वाचन आयोगले गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित पक्षलाई आयोगले मान्यता दिएको हो। शर्माले कांग्रेस अब २१ फागुनको निर्वाचनमा होमिएको बताए । विशेष महाधिवेशनमा छुटेका पक्षलाई समेटेर अगाडि बढ्ने उनले बताए ।