अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रिय कार्यसमितिलाई मात्र छ्: कार्यवाहक सभापति खड्का।

काठमाडौं := नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टी विधानले कुनैपनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रिय कार्यसमितिलाई मात्र दिएको दाबी गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो दाबी दोहोर्‍याउनुभएको हो ।

उहाँले पार्टी विधानअनुसार पार्टीका कुनैपनि पदाधिकारी वा सदस्यलाई विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको स्पष्ट पार्नुभयो । उहाँले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेमा केन्द्रले विशेष महाधिवेशन गर्नसक्ने व्यवस्था भएपनि ‘केन्द्र’ भन्नाले केन्द्रिय कार्यसमिति र केन्द्रिय कार्यालयलाई जनाउने उल्लेख गर्नुभयो ।

उहाँले गत मंसिरमै नियमित महाधिवेशन गर्ने निर्णय पार्टी समितिले गरेको भएपनि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सक्रियताको काम नसकेकै कारण हुन नसकेको जिकिर गर्नुभयो । उहाँले कार्यसमितिले विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्नको लागि प्रक्रिया अगाडि बढाइएको भएपनि तत्कालीन महामन्त्रीद्वयले अत्यसअनुरुप जिम्मेवारी पूरा गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको विधानले कुनैपनि प्रकृतिको अधिवेशन, महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै दिएको छ । पार्टीको केन्द्रिय समितिबाहेक कुनैपनि पदाधिकारीलाई नेपाली काँग्रेसको कुनैपनि अधिवेशन वा महाधिवेशन गर्ने अधिकार नेपाली काँग्रेसले दिएको छैन ।

त्यो कुरा हाम्रो पार्टीको विधानका विभिन्न धारा र नियमावलीमा प्रष्ट छ । त्यसैले विधानको विपरित भएको छ । पार्टीका ४० प्रतिशत महाधिवेशन प्रतिनिनिले हस्ताक्षर गरी विषय खोलेर माग गरेमा केन्द्रले विशेष महाधिवेशन गर्ने व्यवस्था छ । विधानअनुसार केन्द्र भन्नाले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालय हो । यसको अर्थ के हो केन्द्रीय कार्यसमितिको निर्णयले मात्र विशेष महाधिवेशन गर्न पाइन्छ ।’

उहाँले गत मंसिरमा तय गरिएको नियमित महाधिवेशन हुन नसकेपछि अगामी बैशाखमा गर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले गत पुस १५ गते बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकको निर्णयबाटै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको जिकिर समेत गर्नुभयो ।