काठमाडौंसहित देशभर हर्षोल्लासका साथ मनाइयो माघी।

[ दिपिका न्यौपाने ] 

काठमाडौं := काठमाडौंसहित देशभर मकर संक्रान्ति अर्थात् माघी पर्व हर्षोल्लासका साथ मनाइएको छ । माघे संक्रान्ति, माघे सकराती वा माघीका नामले चिनिने यस पर्वको अवसरमा थारू र मगर समुदायले काठमाडौंमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । थारू तथा मगर समुदायको संयुक्त आयोजनामा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ती समुदायका बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी भई आफ्ना मौलिक सांस्कृतिक पोसाक, नृत्य, कला-संस्कृति तथा परम्परागत परिकार प्रदर्शन गरेका थिए । सो अवसरमा झाँकीसहित टुँडिखेलसम्म सांस्कृतिक र्‍यालीसमेत निकालिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

माघी मेलामा पर्वका अवसरमा पकाइने ढिक्री, घोंगी, माछा, गँगटो लगायतका परिकार तथा थारू पहिरनले मेलास्थल भव्य र रंगीन बनेको थियो । थारू समुदायले माघीलाई नयाँ वर्षको सुरुवातका रूपमा मनाउने परम्परा छ । यस दिन ठूला-बडाबाट आशीर्वाद लिने, मुखिया चयन गर्ने तथा नयाँ सोच र संकल्पका साथ आगामी वर्ष बिताउने कामना गर्दै मिठो-मसिनो खाने चलन रहेको छ ।

माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा परम्परागत भेषभूषामा सजिएर सहभागी भएका मगर समुदाय। तस्बिरः रत्न श्रेष्ठ/रासस

पुस मसान्तको दिन सुँगुर वा बंगुर जिता मार्ने, आगोको धुनी बाल्दै डफ र मादलको तालमा धुमरी गाएर रातभर जाग्राम बस्ने परम्परा रहेको छ । माघी पर्वको दिन बिहान सबेरै नजिकका नदी तथा तालतलैयामा स्नान गरी पूजा–आराधना र भाकल गर्ने गरिन्छ । यसरी स्नान र पूजा गरे सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने विश्वास थारू समुदायमा रहिआएको छ ।

यस अवसरमा ढिक्री, अण्डिक भात, खिचरी, तिलको लड्डु, लाइमुरी, भुजा, अण्डी जाँडको झोल, सखरखण्ड, खरिया, सुँगुर/बंगुरको मासु, परेवा, माछा, घोंगी, गँगटो लगायतका परिकारहरू खाने प्रचलन छ । साथै माघी पर्वमा माघी, छोक्रा, हुर्दुग्वा, लठहवा जस्ता परम्परागत नाचहरू प्रस्तुत गरिएका थिए ।

यस्तै माघे संक्रान्तिका अवसरमा बिहीबार देशभरका विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजा–आजा गर्ने, घ्यू, चाकु, तिलको लड्डु र तरुल जस्ता खाद्यवस्तु खाने चलनअनुसार पर्व मनाइएको छ । देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काईलगायतका नदी तथा घाटहरूमा स्नान, दान, श्राद्ध गर्ने श्रद्धालुको ठूलो भीड लागेको थियो ।

माघे संक्रान्तिलाई नेपालका विभिन्न भेग र जातजातिले आ-आफ्नै परम्परा र संस्कृतिअनुसार मनाउने गर्दछन् । थारू समुदायले माघीका रूपमा नयाँ वर्ष मानेर मनाउने गर्छन् भने मगर समुदायले पनि यस पर्वलाई नयाँ वर्षकै रूपमा विशेष महत्वका साथ मनाउने चलन छ ।

क्षेत्री, ब्राह्मण, राई, लिम्बू, नेवार, गुरुङ तथा तराई-मधेसका अन्य जातजातिले समेत आफ्ना सांस्कृतिक र धार्मिक परम्पराअनुसार माघे संक्रान्ति मनाउने गर्दछन् । टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू एवं विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले थारू समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले पश्चिम कञ्चनपुरदेखि पूर्व झापासम्म तथा तराई-मधेसका विभिन्न जिल्लामा बसोबास गर्ने थारु समुदाय देश-विदेशसम्म फैलिँदै गएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले जहाँ पुगे पनि आफ्नो मौलिक संस्कृति, भाषा, पहिचान र परम्पराको संरक्षण र अनुशरण गर्नुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री कार्कीले माघ १ गते नेपालका विभिन्न समुदायले फरक-फरक नाम, शैली र परम्पराअनुसार चाडपर्व मनाउने गरेको उल्लेख गर्नुभयो । चाडपर्व मनाउने शैली फरक भए पनि त्यसको मर्म एउटै रहेको बताउँदै उहाँले आपसी सम्मान, एकता, सद्भाव र सह–अस्तित्व नै सबै चाडपर्वको मूल सन्देश भएको स्पष्ट पार्नुभयो ।