मलेसियामा अवैध पासपोर्ट सिण्डिकेटमा संलग्न इमिग्रेशन अधिकारीसहित आठ जना पक्राउ।

क्वालालम्पुर:= मलेसियाली पासपोर्ट अवैध रूपमा प्राप्त गराउने सिण्डिकेटमाथि गरिएको विशेष कारबाहीमा इमिग्रेशन विभागका एक अधिकारीसहित आठ जना स्थानीय नागरिक पक्राउ परेका छन्।

इमिग्रेशन विभागका महानिर्देशक दातुक जकारिया शाबानका अनुसार, उक्त पक्राउ जनवरी १४ (बुधबार) तीन राज्यका विभिन्न १० स्थानमा गरिएको छापाका क्रममा गरिएको हो।
एक महिनासम्म गरिएको गुप्तचर सूचनाका आधारमा पेराकका ६ स्थान, मेलाकाका २ र जोहोरका २ स्थानमा छापा मारिएको थियो।

इमिग्रेशन अधिकारीको संलग्नता आशंका

पक्राउ परेकामध्ये एक जना इमिग्रेशन अधिकारी सिण्डिकेटका गतिविधि सहज बनाउने भूमिकामा संलग्न रहेको आशंका गरिएको छ। यसका साथै एक जना सिण्डिकेट सदस्य भनिएका पुरुष, तथा ३२ देखि ६१ वर्ष उमेरका चार पुरुष र दुई महिला पनि पक्राउ परेका छन्। सबै पक्राउ परेकाहरू मलेसियाली नागरिक हुन्।

कागजात र सामग्री बरामद

छापाका क्रममा प्रहरीले चार वटा जन्मदर्ता प्रमाणपत्र, एक मलेसियाली पासपोर्ट, आठवटा मोबाइल फोन र १३ थान मलेसियाली पासपोर्ट आवेदन फारमका प्रतिलिपि बरामद गरेको जनाएको छ।

नक्कली अभिभावक बनेर पासपोर्ट आवेदन

प्रारम्भिक अनुसन्धानमा दुई महिला र एक पुरुषले कानुनी अभिभावकको रूपमा नक्कल गर्दै श्रीलंकाली नागरिक भएका बालबालिकालाई इमिग्रेशन कार्यालयमा लगेर मलेसियाली पासपोर्टका लागि आवेदन दिएको पाइएको छ।

त्यसैगरी, तीन जना अन्य स्थानीय पुरुषले आफ्नै परिचयपत्र (IC) प्रयोग गरी वयस्क श्रीलंकाली नागरिकका लागि पासपोर्ट आवेदन बुझाएको पनि खुलेको छ। इमिग्रेशन विभागले यस मामिलामा थप अनुसन्धान जारी रहेको जनाएको छ।