काठमाडौं := नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकतावद्ध राख्ने भागिरथ प्रयास सफल हुन नसकेको बताएका छन् । आज एक वक्तव्य जारी गदै सबै कहीँ न कहीँ चुकेको कुरा स्वीकार गरेका छन् ।
उनले भनेका छन्, ‘दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसबीच गुज्रियौँ । राजधानीमा षड्यन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।’
यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘पार्टी भित्र गर्नुपर्ने सुधारका प्रकृया रोकिने छैनन् । म आह्वान गर्छू हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ ।’
डा. कोइरालाले यस कठिन घडीमा बीपी कोइरालाको स्मरण गर्नुपर्ने बताउँदै कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नु नियतिको कठोर सत्य भएको टिप्पणी गरेका छन् । उनले आठ दशक लामो कांग्रेस इतिहासको गौरव जोगाउन संगठनात्मक उर्जा एकतावद्ध हुनुपर्नेमा जोड दिए ।





















