पेनाङ (मलेसिया):= नेपाल तामाङ समाज मलेसिया, पेनाङको आयोजनामा मञ्जुश्री संवत २८६२, ओ ता ल्हो अवसरमा आयोजित सोनाम ल्होछार कार्यक्रम सोमबार भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। तामाङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सांस्कृतिक एकता र आपसी सद्भाव झल्किएको देख्न सकिन्थ्यो।
कार्यक्रमका सभापति श्याम तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर.टी.ए.पी.सी. तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका केन्द्रीय बरिष्ठ उपाध्यक्ष राजु योन्जन तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। त्यसैगरी जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापा विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रममा पेनाङ राज्यमा रहेका सम्पूर्ण तामाङ समुदायका साथै गैर–तामाङ समुदायको समेत उल्लेख्य सहभागिता रहेको थियो। करिब ६०० देखि ७०० जना दर्शकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ता तथा बुद्धिजीवीहरूको पनि सहभागिता थियो।
सोनाम ल्होछार कार्यक्रम अन्तर्गत तामाङ मौलिक नृत्य, सांस्कृतिक प्रस्तुति, परम्परागत भेषभूषा तथा शुभकामना आदान–प्रदान कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। सहभागीहरूले तामाङ संस्कृति र भाषाको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको समापन गर्दै सभापति श्याम तामाङले विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचान जोगाइराख्न सबै एकजुट हुनुपर्नेमा जोड दिनु हुँदै कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरू, अतिथि, संघ–संस्था, कलाकार, स्वयंसेवक तथा दर्शकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।


















