नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज सोमबार।

काठमाडौं := नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज सोमबार बिहान १० बजेदेखि सुरु हुने भएको छ। यसअघि बिहान ८ बजेदेखि बन्दसत्र हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया बाँकी रहेकाले र खाजाको समय छुट्ट्याइएकाले दुई घण्टा ढिलो गरी बन्दसत्र सुरु गर्न लागिएको हो।

व्यवस्थापन उपसमितिअन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार सोमबार बिहान ८ बजेदेखि प्रतिनिधिको दर्ता तथा खाजाको व्यवस्था गरिनेछ भने १० बजेदेखि बन्दसत्र औपचारिक रूपमा सुरु हुनेछ।

सचिवालयका अनुसार आइतबार साँझसम्म दुई हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। उद्घाटन सत्र सकिएपछि दर्ता फाइल बन्द गरिएको र रात्रि भोजको कार्यक्रम चलेका कारण आइतबारका लागि दर्ता प्रक्रिया स्थगित गरिएको थियो।

उद्घाटन सत्रका कारण थुप्रै प्रतिनिधिले आइतबार दर्ता गर्न नपाएको पाइएको भन्दै सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रिया निरन्तरता दिने निर्णय गरिएको सचिवालयले जनाएको छ। जानकारी अनुसार कुल प्रतिनिधिमध्ये ५६ दशमलव १२ प्रतिशत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी भएका छन् ।