काठमाडौं := नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्किएको बताउनुभएको छ। काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन महामन्त्री थापाले यस्तो बताउनुभएको हो। उहाँले विशेष महाधिवेशन कोही बन्ने नबन्ने विषय नभई संघर्षको विषय भएको बताउनु भयो। विषेश महाधिवेशन आफूहरुको नभई प्रतिनिधिहरुको मागअनुसार आह्वान भएको भन्दै बन्दसत्रले जे निष्कर्ष निकाले पनि स्वीकार्य हुने बताउनुभयो । उहाँले काँग्रेस लासहरुको पार्टी नभई जिउँदा मानिसहरुको पार्टी भएको स्थापित भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘लामो समयदेखि पार्टी सञ्चालनको जुन तरिका थियो आजदेखि त्यो भत्कियो । अब कसैले पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन । अब माथि बस्नेले तल बस्नेलाई सलाम गर्नुपर्छ तलबाट माथि होइन । यो संघर्ष पार्टीभित्रको कोही बन्ने नबन्ने भन्ने संघर्ष होइन । पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको विषय पनि हो । उहाँले भोलि बन्दसत्र छ । यो कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन । मैले पार्टी केन्द्रको रुपमा यो महाधिवेशनको आयोजना गरेको भए यसको एजेण्डा यो यो छ सम्भवतः यहाँ गएर टुंगिन्छ भनेर भन्नसक्थे होला । यो त सदस्यहरुले मागेर भएको महाधिवेशन हो । तपाईहरुले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नुभएको छ । मैले मागेको होइन तपाईहरुले माग्नुभएको छ । यो कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन । किनभने म पनि तपाईहरुले बोलाएर आएको एउटा पाहुना मात्रै हु । भोलि बन्दसत्रले जे निर्णय गर्छ त्यो मेरो लागि स्वीकार्य छ । आजको तपाईको प्रयासहरुले एउटा कुरा स्थापित गरेको छ, काँग्रेस लासहरुको नभई जिउँदा मानिसहरुको पार्टी हो भनेर स्थापित गरेको छ ।’ उहाँले काँग्रेसमा प्रश्न नमरेको जिकिर गर्दै यहाँ नबोल भन्ने कोही नभएको बताउनु भयो ।




















