मलेसियामा पिडितलाई निःशुल्क स्वदेश फिर्ताको अवधारणा जनसम्पर्क समिति मलेसियाले ल्याएको हो: चोलाकान्त पंगेनी।

क्वालालम्पुर (मलेसिया):= रोजगारीको सिलसिलामा  मलेसियामा विभिन्न कारणले दुख पाएका, जेल परेका तथा अत्यन्तै कमजोर अवस्थामा रहेका नेपाली नागरिकलाई निःशुल्क टिकटमार्फत स्वदेश फिर्ता गराउने अवधारणा नेपाली जनसम्पर्क समिति मलेसियाकै पहलमा सुरु भएको स्पष्ट गरिएको छ।

नेपाली जनसम्पर्क समिति मलेसियाको गत आईतवार सम्पन्न चौथो अधिवेशनको क्रममा बोल्दै समितिका सभापति चोलाकान्त पंगेनीले उक्त तथ्य सार्वजनिक गर्दै विगतको योगदान स्मरण गराउनु भयो। उहाँका अनुसार करिब आठ वर्षअगाडि तत्कालीन नेपाली राजदूत डा. निरञ्जन मान सिंह बस्नेतको कार्यकालमा नेपाली जनसम्पर्क समिति मलेसियाले औपचारिक प्रस्ताव लिएर दूतावासमा पहल गरेपछि पीडित सहयोगका लागि विशेष खाता नै खोलिएको थियो।

सोही क्रममा समितिको तर्फबाट प्रारम्भिक रूपमा ३,००० मलेसियन रिंगेट सहयोग उपलब्ध गराइएको थियो। यसभन्दा अघि मलेसियामा जस्तोसुकै गम्भीर अवस्थामा परेका नेपाली नागरिकलाई समेत निःशुल्क टिकट उपलब्ध गराएर नेपाल फर्काउने व्यवस्था थिएन, त्यो कार्य पनि जनसम्पर्क समिति मलेसियाले सुरुवात गरेको हो, सभापति पंगेनीले प्रष्ट पार्नुभयो।

उहाँले उक्त पहलले पिडित नेपाली श्रमिक तथा नागरिकको उद्धारमा ऐतिहासिक योगदान पुर्‍याएको उल्लेख गर्दै, भविष्यमा पनि जनसम्पर्क समितिले नेपाली राजदूतावास र अन्य संघसंस्थासंगको सहकार्यमा मानवीय सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।