मलेसियाको जोहोरबारु ईमिग्रेशनद्वारा ४ जना नेपाली सहित २७ जना थुनुवाहरुलाई देश निकाला (डिपोर्ट)

जोहोर (मलेसिया):= डिसेम्बर २०२५ को अन्तिम हप्ता अवधिभर, पेकान नेनास आप्रवासन “डिपो” घरफिर्ती केन्द्रले विभिन्न मुलुकका २७ जना थुनुवाहरूलाई आ–आफ्नो देश फर्काउने (डिपोर्ट) कार्य सम्पन्न गरेको छ।

डिपोर्ट गरिएकामध्ये बंगलादेशका ११ जना, भारतका ७ जना, पाकिस्तानका ५ जना तथा नेपालका ४ जना नागरिक रहेका छन्।सबै थुनुवा हरूलाई केएलआईए १ र केएलआईए २ अन्तर्राष्ट्रिय विमानस्थल मार्फत सम्बन्धित देशमा फर्काइएको हो।

डिपोर्ट गरिएका सबै थुनुवासँग वैध पासपोर्ट रहेका थिए। तीमध्ये केहीलाई सम्बन्धित देशका राजदूतावासहरूले अस्थायी यात्रा अनुमति कागजात (Emergency Travel Document) जारी गरेका थिए।थुनुवाहरूलाई स्वदेश फर्काउने क्रममा लाग्ने विमान टिकट खर्च पूर्ण रूपमा उनीहरूको व्यक्तिगत बचत, परिवारजनको सहयोग, तथा केही विशेष अवस्थामा सम्बन्धित देशका दूतावासले वहन गरेको जनाइएको छ।

स्वदेश फिर्ता गरिएका सबै थुनुवा हरूलाई आप्रवासन विभागको प्रणालीमा कालोसूचीमा राखिएको छ । र तोकिएको अवधिसम्म कुनै पनि प्रयोजनका लागि मलेसिया प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ।

अध्यागमनले बताए अनुसार थुनुवाहरूको स्वदेश फिर्ती सम्बन्धी सबै प्रक्रिया, जस्तै विमान टिकट खरिद लगायतका कार्यहरू, पेकान नेनास आप्रवासन डिपोमा स्थापना गरिएको सेवा काउन्टर मार्फत गर्न सकिने छ। यसका लागि कुनै पनि ‘सेवा शुल्क’ लगाइने छैन।