काठमाडौं := नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिनुभएको छ । आज पार्टीका नेताहरूसँग भएको भेटमा उहाँले विशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर आगामी माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताउनुभएको भेटमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुषालले बताउनुभयो ।
नेता कोइरालाले सबैको भावना सम्बोधन हुनेगरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसका लागि क्रियाशील रहेको बताउनुभयो । नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गर्न नहुनेमा पनि उहाँले जोड दिनुभयो ।
नेत्री भुसालका अनुसार अधिकांश केन्द्रीय सदस्यले विशेष महाधिवेशनलाई चुनावी घोषणासभाका रूपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिनुभएको थियो। नेता कोइरालालाई भेट्न चिनकाजी श्रेष्ठ, डिला सङ्ग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत केन्द्रीय सदस्यहरू उहाँको सम्पर्क कार्यालय पुग्नुभएको थियो ।



















