चौतर्फी आलोचनापछि (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा समावेश व्यक्तिहरूले नाम फिर्ता लिन थाले।

काठमाडौं := चौतर्फी आलोचनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा समावेश व्यक्तिहरूले नाम फिर्ता लिन थालेका छन् । पार्टीबाहिर र भित्रसमेत नातावाद, पारिवारिक र आर्थिक सम्बन्धका आधारमा बन्दसूची बनाइएको भन्दै चर्को आलोचना भएपछि उम्मेदवारहरूले धमाधम नाम फिर्ता लिन थालेका हुन् ।

रास्वपाबाट पाँच जनाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका छन् । बन्दसूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आशिफ शाह, उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकाल र डा. महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको हो ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा विभिन्न क्षेत्रका चर्चित अनुहार समेटिएका थिए । शनिबार युवा उद्यमी ढकाल र अभिनेता आशिफ शाहले उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको हो । त्यसअघि लावती, गुरुङ, शाह र शेर्पाले उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको थियो ।

अभिनेता तथा टेलिभिजन कार्यक्रम होस्ट शाह रास्वपाको समानुपातिक सूचीमा मुस्लिम पुरुष क्लस्टरबाट एक नम्बरमा हुनुहुन्थ्यो । उहाँ रास्वपाका पूर्वसांसद असिम शाहका दाइ हुनुहुन्छ । सचिन उद्योगपति चन्द्र ढकालका छोरा हुनुहुन्छ । ढकाल फुटबल चितवन क्लब (एफसी चितवन)का अध्यक्षपनि हो । खेलकुदका साथै पर्यटन तथा हस्पिटालिटी व्यवसाय लाग्नुभएका उहाँलाई रास्वापाले समानुपातिक सूचीमा राखेको थियो । उहाँको नाम खस आर्यको २ नम्बर सूचीमा छ ।

त्यस्तै, गुरुङ गायिका तथा चिकित्सक हुनुहुन्छ भने शेर्पा पर्वतारोही हुनुहुन्छ । उहाँहरू सबै काठमाडौंका मेयर बालेन साह र ऊर्जामन्त्री कुलमान घिसिङको कोटामा परेकाहरू हुनुहुन्छ । रास्वपामा समानुपातिक सूचीमा परेको नामलाई लिएर चर्को विवाद भइरहेको छ । सभापति रवि लामिछानेले आयोगले दिएको समयभित्र नाम सच्याउने बताइसक्नु भएको छ ।

गुरुङले सिफारिश पाउनु ठूलो सम्मान भए पनि आत्ममूल्यांकनपछि राजनीतिक पदमा नजाने निष्कर्षमा पुगेकाले नाम फिर्ता लिएको बताउनुभयो । ‘कलाकारिता र स्वास्थ्य सेवामार्फत समुदायका लागि योगदान दिन प्रतिबद्ध छु । राजनीतिक पदमा नरहँदा पनि समाजको आवाजका रूपमा निरन्तर काम गर्नेछु’, उहाँले भन्नुभयो । शेर्पाले दलगत राजनीतिमा रुचि नराख्ने उल्लेख गर्दै लेख्नुभएको छ, ‘म आफ्नै कर्ममार्फत देशका लागि योगदान दिन चाहन्छु । साधारण नागरिककै हैसियतमा राष्ट्र उन्नतिमा भूमिका खेल्नेछु ।’

फिर्ता भएका उम्मेदवारका ठाउँमा दलले अर्काे नाम थप्न पाउने

निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिएमा फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्काे उम्मेदवार थप्न पाउने जनाएको छ । आयोगमा पेस भएका सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन पुस २८ गतसम्मको समय दिइएको आयोगले जनाएको छ । फिर्ता हुन आवेदन दिइएको उम्मेदवारबारे सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्काे उम्मेदवार पठाउन पाउने आयोगले जनाएको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात् दलहरूले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्ने छ । आगामी माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ ।