क्वालालम्पुर:= मलेसियामा आयोजना हुन गइरहेको आठौँ संस्करणको हिमालयन गोल्डकप फुटबल प्रतियोगिता फेब्रुअरी १७ र १८ तारिख पानासोनिक स्टेडियम, सालाममा सम्पन्न हुने भएको छ। आयोजक समितिले प्रतियोगितालाई थप व्यवस्थित, अनुशासित र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्न नेपाली फुटबल एसोसिएसन मलेसिया (NFAM) मा अनिवार्य दर्ताको व्यवस्था लागू गरेको जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुने सबै टिम र खेलाडीहरूले एसोसिएसनमा दर्ता भई वैध परिचयपत्र प्राप्त गर्नुपर्नेछ। परिचयपत्रबिना कुनै पनि खेलाडीले मैदानमा प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ। यस नियमको कडाइका साथ पालना गराइने र उल्लङ्घन गर्ने टिम स्वतः अयोग्य ठहरिने आयोजकले चेतावनी दिएको छ।
मलेसियामा हालसम्म आयोजना भएका फुटबल प्रतियोगितामध्ये सबैभन्दा ठूलो पुरस्कार राशिको प्रतियोगिताका रूपमा चिनिएको हिमालयन गोल्डकपले खेलाडी दर्ता प्रणाली लागू गरेसँगै खेलाडीको वास्तविक पहिचान, उमेर विवाद नियन्त्रण तथा अनुशासन कायम गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ। साथै, यो नियमले दीर्घकालीन रूपमा मलेसियास्थित नेपाली फुटबलको संरचनागत विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको कुल बजेट ६८ हजार मलेसियन रिंगेट रहेको हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए। उनका अनुसार खेलाडीहरूको सुरक्षा, बीमा, मेडिकल सेवा, रेफ्री व्यवस्थापन र मैदानको गुणस्तरमा विशेष ध्यान दिइएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले ४१,५०० मलेसियन रिंगेट, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २१,५०० मलेसियन रिंगेटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयर प्ले टिम जस्ता विधागत पुरस्कारहरू समेत प्रदान गरिने आयोजकले जनाएको छ।
आठौँ संस्करणको हिमालयन गोल्डकपको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारी नेपाली फुटबल एसोसिएसन मलेसियाले सम्हाल्ने अध्यक्ष कार्कीले बताए। प्रतियोगिताका लागि अनुभवी रेफ्री, प्राविधिक टोली र स्वयंसेवक परिचालन गरिनेछ।
मलेसियामा कार्यरत नेपाली श्रमिक, व्यवसायी तथा युवा पुस्ताबीच खेलकुदमार्फत आपसी सद्भाव, स्वास्थ्य प्रवर्द्धन र प्रतिभा पहिचान गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगिताप्रति फुटबल प्रेमीहरूको उत्साह दिनानुदिन बढ्दै गएको आयोजकले जनाएको छ। प्रतियोगितालाई हेर्न उल्लेखनीय दर्शक उपस्थिति रहने अपेक्षा गरिएको छ।




















