राजदूतावासको सहजीकरण र थापाको हवाई टिकट सहयोगमा तीनजना नेपाली स्वदेश फर्किए।

क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाले स्वास्थ्य अवस्थामा समस्या भएका तथा आर्थिक रूपमा अत्यन्तै कमजोर अवस्थामा रहेका नेपाली नागरिकहरूलाई मलेसियाबाट सुरक्षित रूपमा मातृभूमि स्वदेश फर्काएको छ।

राजदूतावासले गत हप्ता मात्रै गम्भीर स्वास्थ्य समस्या तथा आर्थिक अभावका कारण स्वदेश फर्कन असमर्थ तीन जना नेपाली नागरिकलाई आवश्यक सहयोग प्रदान गरी नेपाल फर्कन सहजीकरण गरेको हो।

बितेको वर्ष सन् २०२५ को डिसेम्बर महिनाको विभिन्न समयमा दूतावाससम्म आइपुगेका तीन जना नेपाली नागरिकहरूको मानसिक रूपमा पनि विचलित भएको पाइएकोले उपचारका लागि Christinas Caregiving Home Care Centre मा पठाइएको थियो।

करिब दुई हप्ता लामो उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि राजदूतावासले निःशुल्क यात्रा अनुमति पत्र (Gratis Travel Document) जारी गरी मलेसियाको अध्यागमन विभागमा लिएर गई मलेसियामा अवैधानिक रूपमा बसेबापतको ओभरस्टे जरिवाना शुल्क भुक्तानी गरेको थियो।

यसरी स्वास्थ्यमा सुधार भई प्राविधिक रूपमा घर फर्कन तयार तीन जना नेपाली नागरिकहरूलाई गैरआवासीय नेपाली संघ “एनआरएनए” मलेसियाका भूतपूर्व अध्यक्ष एवं नेपाली कांग्रेस पार्टीको विदेश संगठन नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उप-सभापति नेपाली ब्यावसायी विनोद थापाले हवाई टिकटहरू उपलब्ध गराउनुभएको दूतावासले बतायो।

दूतावासले हवाई टिकट सहयोगीदाता थापालाई धन्यवाद ज्ञापन गर्दै नेपालीहरूको उद्धारमा मलेसियामा रहेका प्रवासी नेपालीहरू, नेपाली व्यवसायीहरू तथा अन्य विभिन्न नेपाली संघसंस्थाहरूको सहयोगको महत्त्वपूर्ण भूमिका रहीआएको बतायो।

साथै विदेशमा समस्यामा परेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग र सहजीकरणका लागि दूतावास सदैव प्रतिबद्ध रहेको दूतावासले बतायो।