जोहोर बारु(मलेसिया):= मलेसियान अध्यागमन विभाग “इमिग्रेशन” जोहोरले अनैतिक गतिविधिविरुद्ध सञ्चालन गरेको विशेष अपरेसनअन्तर्गत २५ देखि ४१ वर्ष उमेर समूहका ७ जना यौनकर्मी विदेशी महिलाहरुलाई पक्राउ गरेको छ।
जोहोर अध्यागमनले ३० डिसेम्बर २०२५ को राति करिब ९ बजे तान्जुङ पुटेरी, जोहोर बारु आसपासका विभिन्न व्यवसायिक परिसरमा एकसाथ अपरेसन सञ्चालन गरेको थियो। उक्त अपरेसन जोहोर राज्य अध्यागमनको प्रवर्तन विभागका अधिकारीहरूको सहभागितामा गरिएको र सफल पनि भएको विभागले जनाएको छ।

अध्यागमन विभागका अनुसार सार्वजनिक सूचनाको आधारमा गरिएको छानबिनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग गर्दै अनैतिक गतिविधि सञ्चालन गरिएको फेला परेको हो। पक्राउ परेकाहरूले WeChat र Telegram जस्ता एप प्रयोग गरी यौनजन्य सेवा प्रस्ताव गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका महिलाहरुले प्रत्येक सेवाका लागि आरएम २३० देखि आरएम ४०० रिंगेटसम्म सेवा शु:ल्क लिने गरिएको र नगद भुक्तानी गरिने गरेको उल्लेख गरिएको छ। पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि अध्यागमन विभाग “डिपो” मा पठाइएको छ ।




















