काठमाडौं := सभापति शेरबहादुर देउवाले मुलुक चुनावमा गइसकेकाले त्यसअघि विशेष महाधिवेशन हुन नसक्ने प्रष्ट पार्नुभएको छ । मंगलबार आफ्नै अस्थायी निवास महाराजगञ्जमा केही पत्रकारसँगको अनौपचारिक भेटमा सभापति देउवाले चुनावपछि नै महाधिवेशन उपयुक्त हो भनेर आफूले सुझाव दिएको समेत उल्लेख गर्नुभएको हो ।
पार्टीले निर्वाचन जित्न ध्यान केन्द्रित गर्नुपर्ने भएकाले महाधिवेशनमा जाँदा आपसमा मतभेद र विभाजनसम्म हुने उल्लेख गर्दै देउवाले भन्नुभयो, ‘मुलुक चुनावमा गयो । यस्तो बेला महाधिवेशन गर्दा आपसमा विभाजन हुन्छ । महाधिवेशन हराउनेले चुनाव हराउन लाग्छन्, हराउँछन् । विशेष महाधिवेशन त चुनाव अगाडि हुँदैन । नगरी हुन्न भन्ने हो भने मैले के भन्नू ? कार्यवाहक दिएकै छु । जे-जे गरे पनि केही भएन । महाधिवेशन उपयुक्त हो भन्ने मेरो सुझाव मानेनन् भने के गर्नु त ?’
सभापति देउवाले चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्नसक्ने चिन्तासमेत व्यक्त गर्नुभएको छ । चुनाव अघिपछि महाधिवेशन गर्न पार्टीका नेताहरूलाई सुझाव दिए पनि अगाडि नै गर्ने भए आफू बाधक नबन्नेसमेत देउवाले स्पष्ट पार्नुभएको छ । आफू भने १५औँ महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने देउवाको भनाइ छ ।
देउवाले १५औँ महाधिवेशनमा विधानत आफू सभापतिको उम्मेदवार बन्न नमिल्ने र आफ्नो इच्छा पनि नभएकाले अरूलाई प्रोत्साहन मात्र गर्ने स्पष्ट पार्दै भन्नुभयो, ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो ?, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ । त्यसकारण विशेष महाधिवेशन हुँदै हुँदैन । नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ ।’
महामन्त्रीद्वयले विशेष महाधिवेशन पक्षधरको भेला बोलाउने
तोकिएको मिति पुस २६ गते महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनको मुद्दा पुनः चर्काएका छन् । महामन्त्रीद्वयले विशेष महाधिवेशन पक्षधरहरूको राष्ट्रिय भेला बोलाउने भएका हुन् । महामन्त्रीद्वयले पुसको १९, २० वा २१ गतेका लागि भेला बोलाउने तयारी गरेका छन् ।
महामन्त्री थापानिकट एक नेताले भने, ‘महामन्त्रीद्वयले पत्र काटेर विशेष महाधिवेशनको पक्षधरहरूलाई बोलाउनुहुन्छ । त्यसपछि विशेष महाधिवेशन तोक्छौँ । महामन्त्रीद्वयले औपचारिक पत्र नै काटेर विशेष महाधिवेशनको भेला बोलाउने सहमति बनिसकेको छ । अब यथास्थितिमा कांग्रेस अगाडि बढ्दैन । विशेष महाधिवेशन पक्षधरहरू एकैठाउँमा भेला भएर दबाब दिन्छौँ ।’
महामन्त्री थापा पक्षधर हस्ताक्षरकर्ताहरूले नै विशेष महाधिवेशन बोलाउनेबारे कानुनविद्हरूसँग नियमित परामर्श पनि गरिरहेका छन् । भेला कांग्रेस केन्द्रीय कार्यालय सानेपामै भेला तयारी भइरहेको हो । यसैबीच महामन्त्री थापानिकट नेताहरूले सामाजिक सञ्जालमा ‘अक्कुपाई सानेपा’ ह्यासट्याग ट्रेण्ड सुरु गरेका छन् । उनीहरूले सानेपास्थित कांग्रेस कार्यालय घेराउ गर्ने, सत्याग्रह गर्ने लगायतका दबाबमूलक कार्यक्रमको तयारी गरेका हुन् ।
महामन्त्रीद्वय गगन र विश्वप्रकाशले नियमित महाधिवेशन, तीन तहको महाधिवेशन पनि गर्न सकिन्न भन्ने हो भने अब विशेष महाधिवेशन गर्नु केन्द्रीय समितिको दायित्व हुने जिकिर गर्दै आउनुभएको छ । विशेष महाधिवेशन पक्षधरले हालै केन्द्रीय कार्यालय सानेपा पुगेर विशेष महाधिवेशन आयोजना गर्न स्मरण पत्र पनि बुझाएका थिए ।
पुसमा महाधिवेशन गर्ने निर्णय महामन्त्रीद्वय थापा र शर्माका कारण गरिएको थियो । संस्थापन पक्ष फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने पक्षमा थियो । दुवै महामन्त्रीका कारण पुसमा महाधिवेशन गर्ने कार्यतालिका ल्याए पनि महामन्त्री नेतृत्वकै समितिले कार्यकुशलता देखाउन नसक्दा महाधिवेशन घोषित मितिमा हुन नसक्ने अवस्थामा पुगेको भन्दै अहिले संस्थापन पक्ष महामन्त्री थापामाथि खनिएको छ ।
पछिल्ला दिनहरूमा त संस्थापन पक्षका नेताहरू फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनावअघि पार्टी महाधिवेशन सम्भव नभएको धारणा राख्न थालेका छन् । सभापति देउवाले विशेष महाधिवेशन रोक्न नियमित महाधिवेशनको तालिकामा सहमति गराउनुभएको थियो । त्यही सहमतिअनुसार १६ पुसबाट वडा अधिवेशन सुरु गरेर २६-२९ पुसमा केन्द्रीय महाधिवेशन गराउने तालिका थियो ।
१५ मंसिरमा ल्याइएको यो कार्यतालिका कार्यान्वयन नहुने अब निश्चित भएको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते नै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए । कांग्रेस विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न मिल्छ ।
हस्ताक्षर बुझेको तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने हुन्छ । त्यसअनुसार पुस २८ गतेभित्रै विशेष महाधिवेशन आयोजना गर्न स्थान र मिति तोक्न विशेष महाधिवेशन पक्षधरले कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन् ।



















