नेपाली कांग्रेस पार्टीको १५औँ महाधिवेशन पुनः अनिश्चित।

काठमाडौं := नेपाली कांग्रेसको १५औँ महाधिवेशन फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि नहुने सम्भावना बढ्दै गएको छ। कांग्रेसले पार्टीको १५औँ महाधिवेशन यही पुस २६ देखि २९ गतेसम्म काठमाडौंमा तोकिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको समन्वयमा मंसिर १५ को केन्द्रीय समिति बैठकले पुस १६ गतेदेखि वडा अधिवेशन गर्ने र ६ तहको अधिवेशन सकेर पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो।

तर, कार्यतालिकाअनुसार अधिवेशनहरू सुरु हुने अवस्था सकिएको छ । कार्यतालिकाअनुसार आज (बुधबार) वडा अधिवेशन हुनुपर्ने हो । तर, निर्वाचन समितिले निर्वाचन अधिकृत खटाएको छैन। यति मात्रै होइन, क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको इन्ट्रीसमेत सकिएको छैन । कतिपय क्षेत्रमा क्रियाशीलबारे विवाद कायमै छ । गत बुधबारदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिले कार्यतालिका परिमार्जन गर्ने निर्णय गरेको थियो ।

तर, कार्यतालिका अहिलेसम्म संशोधन गरेको छैन । जिल्ला सभापतिहरूले आफूहरूले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणसमेत सकेर केन्द्रमा पठाएर वडा अधिवेशन गर्न तयारी अवस्थामा रहे पनि निर्वाचन अधिकृत तोक्नेजस्ता केही काम नभएकोले वडा अधिवेशन अन्योलमा परेको बताएका छन् ।।कांग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठकहरू गर्दै आएको छ ।

तर, पछिल्ला चार दिन यो बैठक पनि प्रतिनिधिसभा समानुपातिक उम्मेदवार तय गर्नमा केन्द्रित रहँदा अधिवेशन कार्यतालिका संशोधनबारे छलफल नै हुन सकेन। महामन्त्री गगन थापाले केन्द्रीय कार्यसम्पादन समिति बैठकमा वडा, प्रतिनिधिसभा क्षेत्र र केन्द्रीय महाधिवेशन गर्नेगरी १५औँ महाधिवेशन कार्यतालिका संशोधन प्रस्ताव ल्याउनुभएको थियो । तर, त्यो प्रस्तावमा छलफल गरी अहिलेसम्म कांग्रेस कुनै निर्णयमा पुग्न सकेको छैन ।

कांग्रेसले तोकिएको समयमा प्रतिनिधिसभाको चुनाव नहुने निष्कर्षका साथ पुस अन्तिम साता पार्टी महाधिवेशनको मिति तोकेको थियो । तर, प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरूले निर्वाचन कार्यतालिकाअनुसार समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेपछि मुलुकमा चुनावी सरगर्मी बढेको छ । मुलुक निर्वाचन उन्मुख भइसकेको अवस्थामा चुनावको तयारी गर्नुपर्ने भएकाले पनि तोकिएकै समयमा महाधिवेशन हुने सम्भावना लगभग सकिएको छ ।

कांग्रेसको संस्थापन समूहले महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले आफ्नो काम पूरा गर्न नसक्दा घोषित मितिमा महाधिवेशन हुन नसक्ने अवस्था आएको जिकिर गरेको छ । नियमित महाधिवेशन पुसभित्रै नहुने निश्चित भएपछि विशेष महाधिवेशन पक्षधरहरूले तयारी सुरु गरेका छन् । तर, सभापति देउवा भने विशेष महाधिवेशन गर्न नहुने अडानमै हुनुहुन्छ ।

समाचार स्रोत : अनिल क्षेत्री / हिमालय टाईम्स पत्रीका