क्वालालम्पुर (मलेसिया):= क्वालालम्पुरस्थित नेपाली राजदूतावास मलेसियाले मलेसियामा रही अनौपचारिक रूपमा आर्थिक विप्रेषणको काम अर्थात् “हुण्डी” कारोबार नगर्न अनुरोध गरेको छ।
राजदूतावासले मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, ब्रुनाई दरुसलाम तथा टिमोर लेस्टेमा रही कोही कसैले अनौपचारिक रूपमा विप्रेषण (हुण्डी) को काम कारोबार नगर्नु/नगराउनु हुन आज शुक्रवार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक सूचना सार्वजनिक गरी अनुरोध गरेको हो।
“सार्वजनिक सूचनामा नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि “विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम/कारोबार (हुण्डी) गरेको वा सङ्कलित रकम नेपाल नपठाएको” भनी प्राप्त गोप्य सूचना तथा तथ्याङ्कहरू नेपाल सरकारका सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट पठाउनुपर्ने व्यवस्था रहेको छ। तसर्थ, सो बमोजिम यस दूतावासले नियमित रूपमा त्यस्ता सूचना तथा तथ्याङ्कहरू परराष्ट्र मन्त्रालयमा पठाउनेछ।” भनी उल्लेख छ।
दूतावासले कसैले त्यस्तो काम/कारोबार गरेको भए त्यस्तो कार्य गर्ने/गराउनेको विवरण प्रमाणसहित यस दूतावासमा जानकारी गराई सहयोग गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछ। हुन्डी कारोबार नियन्त्रण तथा निरुत्साहित गर्ने कार्यमा सहयोग पुर्याउन सम्पूर्ण नेपाली समुदायसँग अपेक्षा समेत गरेको छ। साथै दूतावासले हुन्डी कारोबारसम्बन्धी सूचना उपलब्ध गराउने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने जनाएको छ।





















