ओली नेकपा एमाले पार्टीको अध्यक्षमा लगातार तेस्रोपटक निर्वाचित।

काठमाडौं := केपी शर्मा ओली नेकपा एमाले पार्टीको अध्यक्षमा लगातार तेस्रोपटक निर्वाचित हुनुभएको छ। मंसिर २७ गतेदेखि पुस ३ गतेसम्म काठमाडौंमा भएको एमालेको ११औँ महाधिवेशनबाट ओली प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गरेर अध्यक्षमा निर्वाचित हुनुभएको हो । ओलीले  १ हजार ६६३ मत ल्याउँदा पराजित उम्मेदवार ईश्वर पोखरेलले ५६४ मत मात्र प्राप्त गर्नुभयो ।

पार्टीको १०औँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष र नवौँ महाधिवेशनबाट महासचिव निर्वाचित हुनुभएका पोखरेलले पहिलोपटक अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको होम। यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७८ मा चितवनको सौराहा महाधिवेशनबाट दोस्रोपटक अध्यक्ष चुनिनुभएको थियो ।

२०६५ मा बुटवलमा आयोजित आठौँ महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित हुनुभएको थियो । निर्वाचनमा दुई हजार २२७ मत खसेको थियो । ११औँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार ३६ जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए ।तेस्रोपटक निर्वाचित हुनुभएका अध्यक्ष ओलीले बिहीबार नै शपथ लिनुभएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई शपथग्रहण गराउनुभएको हो । बिहीबार तीन जनाको मात्रै शपथग्रहण भएको छ । पार्टी अध्यक्ष निर्वाचित ओली, केन्द्रीय अनुशासन आयोगमा प्राध्यापक डा.भरतराज पहारी र लेखा आयोग अध्यक्ष पुष्पराज कँडेलको शपथ भएको छ ।

एमालेको पदाधिकारी चयनमा ओली प्यानलको वर्चस्व देखिएको छ । महासचिव, उपमहासचिव र सबै सचिवमा समेत ओली प्यानलका उम्मेदवारले जित निकालेका छन् । अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका ईश्वर पोखरेल प्यानलबाट दुईजना गोकर्ण विष्ट (उपाध्यक्ष) र योगेश भट्टराई (उपमहासचिव) मात्रै विजयी भएका छन् ।

उपाध्यक्षमा ओली प्यानलका तीनजना उम्मेदवार निर्वाचित भएका छन् । ईश्वर पोखरेल प्यानलका एक र स्वतन्त्र एक उपाध्यक्षमा विजयी भएका छन् । ओली प्यानलबाट उपाध्यक्षमा दोहोरिनेहरूमा विष्णु पौडेल र रामबहादुर थापा रहनुभएको छ । पौडेलले एक हजार ६७५ मत ल्याउँदा थापाले एक हजार ५१६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, पूर्वउपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रिय मत (१७३७) प्राप्त गर्दै उपाध्यक्षमा विजयी हुनुभएको छ । त्यस्तै, पूर्व-सचिवसमेत रहनुभएका गोकर्ण विष्ट पोखरेल समूहबाट एक हजार ३६८ मतसहित उपाध्यक्षमा विजयी हुनुभएको छ । संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवार सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका रघुजी पन्त पनि एक हजार २५८ मतसहित विजयी हुनुभएको छ ।

महासचिवमा ओली प्यानलकै शंकर पोखरेल निर्वाचित हुनुभएको छ । पोखरेल यसअघि पनि महासचिव हुनुहुन्थ्यो । पोखरेल १२ सय २८ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी पोखरेल प्यानलका सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गर्नुभएको छ । उपमहासचिवमा ओली प्यानलकै लेखराज भट्ट र रघुवीर महासेठ तथा पोखरेल प्यानलका योगेश भट्टराई विजयी हुनुभएको छ । भट्टले १४५२, महासेठले १३६८ र योगेश भट्टराई १३४८ मत प्राप्त गर्नुभयो ।

सचिवमा ओली प्यानलको क्लिनस्वीप

एमाले महाधिवेशनमा भएको निर्वाचनमा सचिव पदमा अध्यक्ष ओली प्यानलले क्लिनस्वीप गरेको छ । सचिवमा महेश बस्नेतले सर्वाधिक धेरै मत ल्याएर विजयी हुनुभएको छ। एमालेको निर्वाचन आयोगका अनुसार महेश बस्नेत १५४४, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी, १२३१, यामलाल कँडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मत ल्याएर विजयी हुनुभएको हो ।