काठमाडौं := वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीलाई विभिन्न पाँचबुँदे ज्ञापनपत्र बुझाएको छ । संघको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाउँदै वैदेशिक रोजगारमा जाने श्रमिक तथा श्रमिक पठाउने व्यवसायी दुवैप्रति न्यायपूर्ण निर्णय लिन आग्रह गरेको छ ।
पाँचबुँदे मागमा जापान रोजगारीका लागि खडा गरिएको जिट्को लाइसेन्ससम्बन्धी व्यवस्था व्यावहारिक तथा आवश्यक नदेखिएको हुँदा खारेज गरिनुपर्ने, युरोपियन मुलुकमा मागपत्र प्रमाणीकरणको स्पष्ट व्यवस्था नहुँदा हाल धेरै श्रमिक ठगीको शिकार भएको र संस्थागतरूपमा पठाउन नसकिने अवस्थाका कारण कन्सल्टेन्सी, ट्राभल तथा केही व्यक्तिहरूले पठाइरहेकाले ठगी बढेकाले म्यानपावरमार्फत् पठाउने व्यवस्था मिलाउनुपर्ने, फ्री भिसा फ्री टिकटको व्यवस्था खारेज गरी कामदारले पाउने एक महिनाको तलब बराबरको सेवाशुल्क लिन पाउने व्यवस्था मिलाउनुपर्ने माग रहेका छन् ।
त्यस्तै, युएई भिसा प्रक्रियामा पुलिस रिपोर्ट अनिवार्य गरिएकाले श्रमिकमाथि अतिरिक्त १४ हजारभन्दा धेरै आर्थिक भार र झन्झट थप्ने भएकाले उक्त व्यवस्था हटाउन कूटनीतिक पहल गर्नुपर्ने र बढेको मेडिकल शुल्क तथा अभिमुखीकरण शुल्क पुनरवलोकन गर्नुपर्ने माग रहेका छन् ।




















