एउटा चिनियाँ उखान छ-
एक वर्षको लागि हो भने धान रोप
५० वर्षको लागि हो भने रुख रोप
सयौं वर्षको लागि हो भने छोराछोरीलाई राम्रो शिक्षा देउ ।
टिकाराम अधिकारीसँग यो उखान मेल खान्छ । भलै उनले यो उखान सुनेको नहोस् तर मलेसिया आएर मलेसियामा रहेका नेपालीहरूप्रति आफूले जानेको शिक्षालाई शिक्षाप्रद ढंगले प्रस्तुत गर्न खोजेका छन् । मलेसिया आउनु, दुःख पाउनु अनि सिर्जनशील कार्य गर्नुले गर्दा यो अभिव्यक्ति जन्मियो । पीडा त सबैसँग हुन्छ नै ! तर त्यो पीडा भोगाई प्रस्तुत गराईमा फरक हुन्छ । पीडाबारे बुझ्न खोज्दा टिकाराम अधिकारी भन्छन् – “टु मच, तर उल्लेख गर्दा मज्जा आउँदैन” । अभिव्यक्ति लेखनको क्रममा यो एउटा नयाँ घटना बन्न पुग्यो । दुःख पाएको व्यक्तिसँगै नयाँ सिर्जना हुन पुग्छ र अन्यले आफूले पाएको दुःख नपाओस् भन्ने हुन्छ । त्यसको लागि भोगाइलाई सरल ढंगमा अन्यमा सारेर बचाउन हरदम प्रयास गर्दछ ।
बि.सं. २०३९ सालमा जन्मिएका हुन् टिकाराम । बुवा खड्काबहादुर अधिकारी र आमा माया अधिकारीको कोखबाट हडिया ८ खैरा उदयपुरमा जन्मिका उनले लुवागढी प्रा.वी.बाट प्रारम्भिक शिक्षा लिएका हुन् । त्यसपछि काठमाडौँको श्रम राष्ट्रिय माध्यमिक विद्यालय सिध्याएका हुन्। तर उनले काठमाडौँमा नै एसएलसी दिन पाएनन् । परिवारमा पाँचभाइ छोरा मध्येका माइला थिए उनी । चिनेजानेको आफन्तसँग काठमाडौँमा बस्दै आएका थिए । खान्की उदयपुरबाटै जान्थ्यो । जब एसएलसीको लागि खर्च चाहियो तब परिवारले एउटा छोराको लागि मात्र खर्च धान्न सकेन । तत्पश्चात: उनी गाउँ फर्के । र, जनता मा.वि.बाट एसएलसी पूरा गरे ।
एसएलसीपछि एउटा व्यक्तिलाई केही परिपक्क बनाउँछ । निश्चय नै । साथै केही अफिसहरुमा सानोतिनो काम पनि मिल्छ । उसै त टिकाराम काठमाडौँमा बसेका, लागे काठमाडौँतिरै । काठमाडौँको ज्यादै चर्चित आरआर क्याम्पस। हाल नेपाली मानविकीमा भर्ना भए । साथै, हिमाल पाक्षिक पत्रिकाको सेल्सम्यानको रुपमा काम पनि गरे ।जिन्दगीमा लक्ष्य के के थियो त ? उनी आफ्नो बाल्यकाल फ्ल्यासब्याक उतार्दछन् – “मलाई बाल्यकालमा खुब बन्दुक बोक्न, पड्काउन मात्र मन लाग्थ्यो । भविष्यमा आर्मी बन्ने अभिलाषा राखेको थिएँ । एसएलसी पश्चात आर्मीको लागि भिडेको पनि हुँ । तर आइटेस्टमा फेल भएपछि आर्मीको सोच पनि खत्तम भयो ।”
आर्मीको सोच खतम भएपछि हिमाल मिडियाको जागिरले पढाइ धानिरहेको थियो । नेपालको नियती यस्तै भयो । जो आम नेपालीले महसुस गरेका छन् । उसै त प्रवीणता प्रमाणपत्र तहको अध्ययन लर्के जोवनमा हुन्छ । पढाइ सुरु गरेको छ महिनासम्म त चिनजानमै बित्छ । कता क्लास सञ्चालन हुँदैछ ? कुन लेक्चरले पढाउँदैछ ? थाहै हुँदैन । अनि जब परीक्षामा आधा छुट्टी जान्छ तब मात्र पुनः पढाइको लागि कसिन्छन् विद्यार्थीहरु । अलिकति त्यस्तै भयो ।
अधिकारीको जीवनमा अलिकति अरुको जीवनशैलीलाई प्रस्तुत गरिएको हो । उनलाई पहिलो वर्षमा ब्याक लाग्यो । दोस्रो वर्ष सकिए पनि पहिलोले गर्दा छ महिना ब्रेक गरेर बस्नुपर्ने भयो । मन चञ्चल भइरहने समय भएकोले गर्दा उनी थामिएनन् । नेपालमा साथीभाई खोज्न गाउँ होइन कि जंगल कि विदेश जानुपर्ने स्थिति थियो । उनलाई विदेशमोह जाग्यो र आफन्तको माध्यमबाट उनी मलेसियाको एक फर्निचर कम्पनीमा आइपुगे । उनको चन्चलपन त्यतिखेर मात्र समाप्त भयो – कहिल्यै नगरेको काम गर्नु पर्ने भएकोले उनी छाँगाबाट खसेझै भए र काम गर्न चाहेनन् । घर फर्किन चाहे । तर त्यति सजिलै कहाँ मिल्थ्यो र ?
बोसले आफ्नो एजेन्टसँग कुरा गर भन्यो । एजेन्टले त्यत्रो खर्च भइसकेको किन खेर फाल्छौ भन्यो । उनी काम नगर्ने नै भए । तसर्थ एजेन्ट आफन्त नै भएकोले उनको गाम्भीर्यता बुझे । र, कलालम्पुरस्थित एक कलेजमा विद्यार्थी भिसा मिलाइदिए ।नेपालमा उनले कम्प्युटर सिकेका थिए । पेजमेकरसम्म चलाउँथे । ग्राफिक डिजाइनको सामान्य अनुभव थियो । मलेसियामा भर्खर भर्खर पत्र-पत्रिका प्रकाशित हुन लागेको थियो । दक्ष प्राविधिकको खाँचो नै थियो । त्यसैले श्रम साप्ताहिकमा उनले काम पाए ।
मिडिया क्षेत्र नेपालीहरूको प्यारो क्षेत्र हो । जो पनि यसै क्षेत्रमा आउन चाहन्छ । गहिरिएर बुझ्दा यसको भविष्य राम्रो नै छ । तर ढिलो हुने भएकोले गर्दा चाइनिज कोरियन मूलका मानिसहरु यसप्रति उत्साह जगाउँदैनन् । तर, टिकारामले हिमाल मिडियामा काम गरेका कारण मिडियाको अर्थ बुझेका थिए र प्रयोग गर्न पनि जानेका थिए । उनले यसै क्षेत्रबाट नेपालीहरुलाई शिक्षित बनाउने अभिलाषा राखे ।
मलेसियाको १२ महिने अनुभव लिएपछि उनको ज्ञानचक्षुले निश्चित मोड लियो । यहाँ नेपालीहरूको पीडा बुझे । लुटिएको ठगिएको सुने, देखे, भोगे ।तत्पश्चात नेपालीहरुलाई बुझ्ने गाइडिङको रुपमा मलेसियाको विस्तृत रुप दिने जमर्को गरे । अनि निकाले – श्रमिक डायरी (आफन्तलाई भेट्ने साँचो) । उनको सोच भनेको यहाँ रहेका सबै नेपालीहरूको परिचय छाप्ने हो तर सकेनन् । उनीमा सबैजनाको परिचय लिन जान, सङ्कलन गर्न कठिन भयो । सूचना छाडेको पनि धेरैले काम गरेन । अनि पेनाङ क्षेत्रको मात्र परिचय छाप्न सकिएछ । पुस्तक त धेरै हतारमा निकालेछन् – सुद्धासुद्धी देखि हरेक कुरामा काम चलाउ मात्र भयो।
उनी भन्छन् – यहाँबाट लेखेर नेपाल पठायो, नेपालमा टाइप कसरी गर्दैछ, प्रुफिङ कसरी हेर्दैछ, सबै जानकारी नै लिन सकिएन । तसर्थ त्यस्तै छापियो । अहिले चाहिँ उनले बुझे – पुस्तक निकाल्न धेरै समय छुट्याउनु पर्ने रहेछ । जथाभावी निकालेपछि फुर्सदमा पछुताउनु बाहेक केही उपाय नरहने रहेछ। पुस्तकमा सिङ्गो मलेसियाको परिचय दिन खोजेको छन्। कतिपय घुमेर, कतिपय सोधेर । वास्तविक स्रोत के हो ? भनेर सोध्दा भन्छन् – इन्टरनेट । हो, उनले लेखेको सबै कुरा इन्टरनेटमा पाइन्छन् तर सबै नेपालीहरूको पहुँचमा इन्टरनेट छैन । त्यसैले नै उनको काम सह्रानिय भएको हो ।
अहिले फेरि उनी शब्दकोशमा जुटिरहेका छन् । अब तीन महिनाभित्र सक्ने प्रतिबद्धता जाहेर गर्दछन् । नेपाली-मले शब्दकोश त धेरै छन् नि ! भन्दा उनी भन्छन् – धेरै छ तर वैज्ञानिक छैन । भाषा विज्ञानको आधार सम्पूर्ण कुराहरु गलत हुन्छ । अल्फाबेटिक अर्डरमा छैन । नेपाली शिक्षामा स्नातक अध्ययनरत मात्र रहेका अधिकारीलाई शब्दकोश लेखनलाई कस्तो सहयोग मिलेको छ त ? शब्दकोश जस्तो सेन्सेटिभ कार्यमा उनको शिक्षा काफी होइन । तर उनमा आँट छ, धैर्यता छ । उनलाई पढाउने शिक्षकको ठूलो सहयोग छ, जसले अंग्रेजी र मले भाषाको शब्द मिलाउन सहयोग गरिरहेका छन् ।
मलेसियामा कति समयसम्म नेपाली बस्लान् ? २०१६ सालसम्मको एग्रिमेन्ट हो, चाँडै पनि भङ्ग हुन सक्छ । त्यसैकारण नै यहाँ नेपाली व्यापारीहरूको एकता नभएको हो । तर यहाँ एउटा अंग्रेजी भनाइलाई उजागर गर्नुपर्ने देखियो । A party leader always thinks next election, But the Statesmen always thinks next generation. अर्थात् पैसा कमाउँ अभियान हो भने यस्तो सेन्सेटिभ कार्यमा नलागी कुनै पेशा अपनाइन्थ्यो । तर उनको सोचाइ पुस्तौ पुस्ताको लागि हो । नेपाली-अंग्रेजी-मले शब्दकोश लेख्नुमा उनको आफ्नै तर्क छ । नेपालीहरूले मलेभाषा बोल्छन् र बुझ्छन् । जो सधैंभरि प्रयोगमा आएकोले गर्दा बोल्न कठिन नभएको कुरा धेरै नेपालीहरुले बुझेका होलान् । तर भाषा विज्ञानको आधारले हेर्दा अर्को भाषा बोल्दा त्यसको गम्भीरतालाई बुझिएको हुँदैन । आफूले शुद्ध बोले जस्तै लाग्छ तर धेरै अशुद्ध बोलिरहेको हुन्छन् । त्यसको कारण अनुवाद हो । नेपाली भाषामा कर्ता, कर्म, क्रिया भएर जान्छ भने अन्यमा कर्ता, क्रिया, कर्म भएर जान्छ । अनुवादले नेपाली नेपालीमा बोल्न र बुझ्न सजिलो हुन्छ ।
सिर्जनशील कार्यमा उदयपुर निकै अगाडि आए पनि उनले मात्र मितेरी युवा क्लबको सचिव हुने मौका पाए । तर उनले यहाँ रहेका नेपाली विद्यार्थीहरूलाई समेटेर एउटा मञ्च पनि बनाएका छन् । त्यसका सचिव हुन् उनी । गत दीपावलीमा त्यस संस्थाले कार्यक्रम पनि गरेको थियो । बर्सेनी नेपालबाट धेरै विद्यार्थीहरु यहाँ भित्रिन्छन् । उनीहरूको लक्ष्य भनेको यहाँबाट ६ महिनाभित्रै अर्को देश जानु रहेकोले गर्दा उनीहरूको सम्पर्क हुँदैन । तसर्थ विद्यार्थीहरूको संस्था मजबुत हुँदैन । तैपनि ३२ जना विद्यार्थीहरु चाहिँ उनको नियमित सम्पर्कमा रहेको छ ।
जेल लगाएर केही ठाडो कपाल पारेका टीकारामको यो सोच आगामी पुस्ताको लागि ज्यादै उदाहरणीय कार्य हो । तर यहाँको पत्र-पत्रिकाले खाली व्यापारिक सोच मात्र राखेकोले प्रतिभालाई ओझेल पारेको खुलस्त बताउँछन् ।
प्रस्तुती – देवेन्द्र सुर्केली
साभार – नेपाल सन्देश साप्ताहिक / अरपे फेसबुक पेज




















