‘बाडुल’ सिण्डिकेट ध्वस्त, विदेशी कामदार कोटा ठगीका मुख्य सूत्रधार मलेसिया इमिग्रेसनद्वारा पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाली अध्यागमन विभाग  “इमिग्रेसन”ले विदेशी कामदार कोटा ठगीमा संलग्न ‘बाडुल’ नामक सिण्डिकेटलाई सफलतापूर्वक ध्वस्त पारेको छ। ‘अप्स सेरकाप’ अन्तर्गत २०२६ फेब्रुअरी ४ तारिखमा क्वालालम्पुरको जालान देसा पान्डानस्थित एउटा पसल भवनको दोस्रो तल्लामा रहेको कार्यालयमा छापा मारेर सिण्डिकेटलाई ध्वस्त पारी कारबाही गरिएको हो।

गुप्तचर सूचनाका आधारमा परिचालित अपरेसन टोलीले सो स्थानमा छापा मार्दा २६ देखि ६१ वर्ष उमेर समूहका ९ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ८ जना बंगलादेशी पुरुष र १ जना इन्डोनेसियाली महिला छन्। साथै, अनुसन्धानमा सहयोग पुर्‍याउन उक्त कम्पनीमा काम गर्ने स्थानीय नागरिकलाई २ वटा साक्षी समन जारी गरिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार सम्बन्धित कम्पनीले आफ्नै प्रयोगका लागि स्वीकृत गरिएको विदेशी कामदार कोटालाई दुरुपयोग गर्दै अधिकारिक अनुमति बिना तेस्रो पक्षलाई कामदार बेच्ने, सार्ने तथा वितरण गर्ने गरेको खुलेको छ। प्रत्येक आवेदनका लागि आरएम ३००० देखि आरएम ८,००० सम्म शुल्क लिने गरिएको र कम्पनीले वार्षिक करिब आरएम १ मिलियन नाफा कमाएको आशंका गरिएको छ।

यस सिण्डिकेटको कार्यशैलीमा विदेशी कामदारलाई कारबाहीबाट जोगाउन नक्कली बिदा पत्र (leave letter) तयार गर्ने, पक्राउ परेका कामदारलाई निश्चित शुल्क लिएर छुटाइदिने व्यवस्था मिलाउने तथा अधिकारिक अनुमति बिना पास तथा भिसा नविकरणको काम मध्यस्थकर्ताको रूपमा गराउने जस्ता गतिविधि पनि समावेश थिए।

थप अनुसन्धानले सिण्डिकेटले सम्बन्धित निकायको अनुमति बिना सम्पूर्ण प्रायद्वीपीय मलेसियाभर विदेशी कामदार उपलब्ध गराउँदै आएको देखाएको छ। यसले मलेसियाको इमिग्रेसन प्रणालीको योजनाबद्ध दुरुपयोग मात्र नभई विदेशी कामदारको शोषण, सार्वजनिक सुरक्षा र देशको सार्वभौमिकतामा समेत गम्भीर खतरा उत्पन्न गरेको जनाइएको छ।

छानबिनका क्रममा २२ वटा इन्डोनेसियाली पासपोर्ट, २० वटा बंगलादेशी पासपोर्ट, ५ वटा पाकिस्तानी पासपोर्ट र १ वटा भारतीय पासपोर्ट बरामद गरिएको छ। साथै, ४९७ वटा विदेशी कामदारको i-कार्ड, ३८ वटा CIDB कार्ड, आरएम १३,००० नगद रकम तथा अवैध रूपमा विदेशी कामदार प्रक्रिया गर्न प्रयोग गरिएका विभिन्न कागजात र उपकरणहरू जफत गरिएको छ।

पक्राउ परेका सबै विदेशी नागरिकलाई थप अनुसन्धानका लागि पुटराजायास्थित इमिग्रेसन डिपोमा राखिएको छ। उनीहरूमाथि इमिग्रेसन ऐन १९५९/६३ तथा इमिग्रेसन नियमावली १९६३ अन्तर्गत अनुसन्धान भइरहेको छ।

मलेसिया इमिग्रेसन विभागले वैध कागजात बिना विदेशी नागरिकलाई संरक्षण गर्ने, रोजगारी दिने वा सहकार्य गर्ने जो कोहीविरुद्ध बिना सम्झौता कडा कारबाही गरिने स्पष्ट पारेको छ। देशको सुरक्षा तथा सार्वभौमिकता जोगाउन इमिग्रेसन विभागले देशव्यापी कार्यान्वयन अभियानलाई अझ कडा बनाइराख्ने प्रतिबद्धता जनाएको छ।