एजेन्सी:= अमेरिकी व्यापारी तथा प्रविधि उद्यमी एलन मस्कले विश्व अर्थतन्त्रको इतिहासमै अर्को कीर्तिमान कायम गर्नुभएको छ । पटक-पटक विश्वका धनाढ्य व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा रहँदै आउनुभएका मस्क यसपटक ६७७ अर्ब डलरभन्दा बढी सम्पत्ति हुने पहिलो व्यक्ति बन्नुभएको हो।
फोब्र्सका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म मस्कको कुल सम्पत्ति ६७७ अर्ब डलर पुगेको थियो । यससँगै उहाँ विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहनुभएका व्यक्तिभन्दा सयौँ अर्ब डलरले अगाडि पुग्नुभएको छ । मस्कको सम्पत्तिमा आएको तीव्र वृद्धिको मुख्य कारण उहाँको अन्तरिक्ष कम्पनी स्पेसएक्स भएको रोयटर्सले जनाएको छ ।
हाल स्पेसएक्सको मूल्यांकन ८०० अर्ब डलर पुगेको छ । मस्कको यस कम्पनीमा करिब ४२ प्रतिशत हिस्सेदारी रहेको छ । केवल यही मूल्यांकन वृद्धिका कारण मात्रै उनको सम्पत्तिमा करिब १६८ अर्ब डलर थपिएको बताइएको छ। गत अक्टोबरमै ५०० अर्ब डलरको आँकडा पार गर्ने पहिलो व्यक्ति बन्नुभएका मस्कका लागि यो नयाँ उपलब्धि थप ऐतिहासिक मानिएको छ ।
स्पेसएक्सले सन् २०२६ मा प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) ल्याउने योजना बनाइरहेको समेत बताइएको छ । स्पेसएक्ससँगै मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाले पनि उहाँको सम्पत्ति बढाउन सहयोग गरेको छ । कार बिक्रीमा केही गिरावट आए पनि टेस्लाको सेयर मूल्य यस वर्ष अहिलेसम्म करिब १३ प्रतिशतले बढिसकेको छ ।
मस्कसँग टेस्लामा करिब १२ प्रतिशत हिस्सेदारी छ । कम्पनीले रोबोट्याक्सीको परीक्षण गरिरहेको जानकारी सार्वजनिक भएपछि सोमबार टेस्लाको सेयर झन्डै चार प्रतिशतले बढेको थियो । यसैगरी, मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआई पनि लगानीकर्ताको चासोको केन्द्रमा छ ।
रिपोर्टअनुसार कम्पनीले १५ अर्ब डलर बराबरको नयाँ फन्ड जुटाउने तयारी गरिरहेको छ, जसबाट यसको मूल्यांकन २३० अर्ब डलर पुग्ने अनुमान गरिएको छ । लगातार नयाँ–नयाँ व्यावसायिक सफलतासँगै मस्कको सम्पत्ति ‘रकेट’ जस्तै उचाइमा पुगिरहेको विश्लेषकहरूको टिप्पणी छ । हालको गतिलाई हेर्दा उनी विश्वकै पहिलो ट्रिलिनियर (एक ट्रिलियन डलरभन्दा बढी सम्पत्ति हुने व्यक्ति) बन्ने दिशामा तीव्र रूपमा अघि बढिरहेको बताइन्छ ।




















