८० वर्षको उमेरमा आठौँपटक चुनाव लड्ने तयारीमा देउवा, पुनः डडेलधुराबाटै लड्ने।

काठमाडौं := नेपाली कांग्रेसले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर मसान्तसम्म केन्द्रमा आइपुग्ने गरी उम्मेदवार सिफारिश गर्न मातहतका पार्टी कार्यालयलाई निर्देशन दिएको छ । निर्देशनअनुसार नै मातहतका समितिले प्रतिनिधिसभा र माघ ११ गते तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनको लागि धमाधम उम्मेदवार सिफारिश गर्न थालेका छन् ।

विगतका चुनावमा उम्मेदवार सिफारिश गर्ने काममा नेपाली कांग्रेस सबैभन्दा ढिलो हुने गरेको थियो । तर, यसपटक कांग्रेस उम्मेदवार सिफारिश गर्ने मामिलामा सबैभन्दा अग्रस्थानमा देखिएको छ । यसपटक उम्मेदवार सिफारिश गर्नेक्रममा नेपाली कांग्रेसमा अनपेक्षित दृश्यसमेत देखिएका छन् । गत निर्वाचनमा प्रत्यक्षबाट जितेका कांग्रेसका सांसदहरूले आसन्न प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन्।

पार्टी सभापति शेरबहादुर देउवा ८० वर्षको उमेरमा अन्तिमपटक भन्दै डडेल्धुराबाट चुनाव लड्ने तयारीमा रहनुभएको छ । तर, पूर्व-मन्त्रीसमेत रहेका कांग्रेसकै तीनजना नेताहरूले भने युवा पुस्ताका लागि भन्दै संसदीय राजनीतिको बाटो छाड्ने घोषणा गरेका छन् ।

पूर्वमन्त्री तथा तत्कालीन संसद्का सदस्य रहनुभएका कीर्तिपुर निवासी ६७ वर्षीय राजन केसी र तत्कालीन कृषिमन्त्री रहनुभएका ६४ वर्षीय रामनाथ अधिकारीले आफ्नो संसदीय राजनीतिको यात्रालाई पूर्णविराम लगाएको घोषणा आ-आफ्नो निर्वाचन क्षेत्रबाट गर्नुभएको छ । केसी काठमाडौं-१० र अधिकारी धादिङ-२ बाट निर्वाचित तत्कालीन सांसद हुनुहुन्छ ।

२०६४ बाट संसदीय राजनीतिका लागि चुनावी मैदानमा उत्रिनुभएका केसीले भने आफू प्रत्यक्षतर्फ मात्रै नभएर राष्ट्रियसभा, समानुपातिक कतै पनि र कहिल्यै पनि चुनावी मैदानमा नउत्रिने घोषणा गर्नुभएको छ । यस्तै, उदयपुरबाट निर्वाचित एवं पूर्व-परराष्ट्रमन्त्री डा.नारायण खड्काले पनि आगामी चुनाव नलड्ने घोषणा गर्नुभएको छ ।

२१ फागुनको निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रबाटै उम्मेदवार हुनका लागि कांग्रेसमा आकांक्षीको लर्को लागेको छ । ०४८ सालदेखि सक्रिय राजनीतिमा लागेका, पूर्व–सांसदसमेत उम्मेदवार हुन अझै लामबद्ध भइरहेका बेला केसी र अधिकारीले भने आफ्नो स्थानमा युवाहरूलाई अघि बढ्न सन्देश दिनुभएको छ । अधिकारी, केसी र खड्काको घोषणाले आसन्न चुनाव लड्न तम्सिनुभएका ८० वर्षीय पार्टी सभापति देउवालाई नैतिक दबाब परेको छ ।