क्वालालम्पुर (मलेसिया):= किरात याक्थुङ चुम्लुङ मलेसिया शाखाको आयोजनामा सदाको वर्षझै लिम्बु समुदायको महान पर्व चासोक तङ्नाम यस वर्ष पनि मलेसियामा भव्य रूपमा मनाउने तयारी पुरा भएको छ।
यहीँ डिसेम्बर १३, शनिबार साझ ०५:०० बजे क्वालालम्पुरस्थित नेपाली राजदूतावाससँगै रहेको भवनको सभाहलमा आयोजना हुने कार्यक्रममा नेपालबाट प्रमुख अतिथिका रूपमा जनता समाजवादी पार्टीकी प्रदेश १ की सभा सदस्य तथा पूर्वमन्त्री निर्मला तावा लिम्बू उपस्थितिमा चासोक तङ्नाम मनाउने तय भएको आयोजक संस्थाले जनाएको छ।
चासोक तङ्नाम कार्यक्रमलाई सफल बनाउन नेपालबाट आईपुग्नु भएका प्रमुख अतिथि जनता समाजवादी पार्टीकी प्रदेश १ की सभा सदस्य तथा पूर्वमन्त्री निर्मला तावा लिम्बू र कलाकारद्धय सम्झना योङ्हाङ लिम्बू र सञ्चारकर्मी टिआर सेनेहाङ्लाई आयोजक संस्थाले बिहिवार राती केयलआईए अन्तर्राष्ट्रिय विमानस्थल मलेसियामा स्वागत गरेका छ्न।

आमन्त्रित प्रमुख अतिथि र कलाकारलाई किरात याक्थुङ् चुम्लुङ मलेसियाको अध्यक्ष दिल केरुङ लिम्बू , गैर आवासीय नेपाली संघ एनआरएनए मलेसिया अध्यक्ष ईन्द्रनारायण लिम्बु, एनआरएनए मलेसिया कोषाध्यक्ष बालध्वज लिम्बु , नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष पदमराज लिम्बुलगायतका पदाधिकारी विमानस्थलमा उपस्थित भैइ फुलका गुच्छा र खादा ओढाइ स्वागत गरेका हुन।

मलेसियामा रहेका लिम्बु श्रमिक, समाजसेवी तथा युवाको सक्रिय सहभागितामा आयोजना हुन लागेको यस कार्यक्रमले कला, संस्कृतिको जगेर्ना, भाषा, भेषभूषा र परम्परागत पहिचान प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको आयोजक समितिले जनाएको छ। लिम्बु समुदायले नयाँ अन्न-बाली भित्राउनु अघि कुलदेवता र प्रकृतिको पूजा गर्दै मनाउँदै आएको चासोक तङ्नाम परम्परागत रूपमा अत्यन्त महत्वपूर्ण पर्व मानिन्छ।

त्यसैगरि किरात याक्थुम चुम्लुङ् मलेसिया जोहोर शाखाद्वारा पनि चासोक तङ्नाम-२०२५ कार्यक्रम मनाउने तय भएको छ । जोहोर राज्यमा भने डिसेम्बर १४ तारिख आईतवारका दिन कार्यक्रम हुने तय भएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा उपस्थितिको लागि मलेसियामा स्थापित नेपाली राजदूतावास संगै विभिन्न संघसंस्था र मिडियालगायत प्रतिनिधिहरुलाई निमन्त्रणा गरिसकिएको आयोजक संस्थाले जनाएको छ ।




















