काठमाडौं := आगामी पुस १७ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘एक्लो’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तु र चरित्र चित्रणबारे जानकारी दिन्छ । ट्रेलर हेर्दा यसले भव्यता देखाएको छ ।
चलचित्रका सबै शीर्ष कलाकारहरू ट्रेलरमा देखिएका छन् ।प्रदीप शाहीको निर्देशनमा बनेको नेपाली साइन्स-फिक्सन यस चलचित्रमा प्रदीप खड्का, विजय लामा, कविता नेपाली, बेनिशा हमाल, जेमी बेकन, सुरज सिंह ठकुरी, एवनराज उप्रेती, दीया पुन, सुनिल थापा, दिनेश डिसी लगायतका कलाकारको अभिनय छ ।
काभ्रेको पनौती र हिमालपारिको जिल्ला मुस्ताङमा फिल्म छायांकन गरिएको छ । यो फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।

तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाड बीचमा रहेको गुफाभित्र लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का) लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । त्यसपछि उनीहरूको अगाडिको कथा सुरु हुन्छ ।
बाँकी कथालाई दोस्रो अध्यायमा देखाउने जानकारी निर्देशक शाहीले दिए । शाई प्रोडक्सन्स नेपालको ब्यानरमा निर्माण भएको यो फिल्ममा विजय लामा, कविता नेपाली, बेनिशा हमाल, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, दीया पुन, सुनिल थापा, दिनेश डीसीको पनि अभिनय छ । कार्यकारी निर्माता विनोद सुवेदी खत्री हुन् ।




















