एनपिएलको फाइनलमा सुदूरपश्चिम-लुम्बिनी भिड्ने, विराटनगर किङ्स आउट।

काठमाडौं := उत्कृष्ट बलिङ प्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको फाइनलमा स्थान बनाएको छ। कीर्तिपुर भएको दोस्रो क्वालिफायरमा लुम्बिनीले बिहीवार विराटनगर किङ्सलाई ४० रनले हराउँदै एनपिएलको फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको हो । एनपिएलमा पहिलोपल्ट प्लेअफमा पुगेको लुम्बिनी फाइनलमा पुग्दा विराटनगर भने असफल भयो ।

लगातार पाँचौं जितपछि लुम्बिनी उपाधिका लागि एक कदम मात्र पछि छ । लुम्बिनीले इलिमिनेटरमा काठमान्डु गोर्खाजमाथि चार विकेटको जित निकाल्दै विराटनगरसँग भेट पक्का गरेको हो । काठमान्डुविरुद्ध उत्कृष्ट बलिङ गरेपछि लुम्बिनी दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । विराटनगरसँग पनि लुम्बिनीले उत्कृष्ट बलिङ लय जारी राख्यो ।

लिगको अन्तिम खेलमा विराटनगरले सुदूरपश्चिमसँग उत्कृष्ट ब्याटिङ गरेको थियो । तर, प्लेअफमा खराब ब्याटिङ गरेपछि विराटनगरको फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन ।  गत मंगलबार पहिलो क्वालिफायरमा विराटनगर सुदूरपश्चिमसँग ७७ रनले पराजित भएको थियो । यस क्रममा विराटनगर ७८ रनमा नै अलआउट हुन पुग्यो । लुम्बिनीसँग पनि विराटनगर ९४ रनमै अलआउट भयो ।

दुवै खेलमा शीर्ष क्रमले खराब ब्याटिङ गरे ।  यद्यपि, लुम्बिनीले पनि ब्याटिङमा निकै संघर्ष गरेको थियो । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले एक सय ३५ रनको मध्यम लक्ष्य दियो । जबाफमा विराटनगर १७.५ ओभरमा  ९४ रनमा नै अलआउट भयो । यस सिजनमा विराटनगर लुम्बिनीसँग दोस्रोपल्ट पराजित भएको हो । लिगमा पनि विराटनगर पाँच विकेटले पराजित भएको थियो ।

विराटनगरले त्यो खराब नतिजा प्लेअफमा पनि जारी राख्यो । मध्यम लक्ष्य पछ्याए पनि विराटनगरले फेरि खराब सुरुआत ग¥यो । शीर्ष क्रमका चार ब्याटर सस्तैमा आउट भए । पहिलो ओभरमै ओपनर मार्टिन गप्टिल २ र लोकेश बम शून्यमा आउट भएपछि विराटनगरलाई ठूलो झड्का लाग्यो । नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलमेनले पहिलो दुई विकेट लिँदै लुम्बिनीलाई राम्रो सुरुआत दिलाए ।

स्पिनर शेर मल्लले दोस्रो ओभरमै अर्का ओपनर फाप डुप्लेसिसलाई पनि ३ रनमै पभेलियन फर्किए । त्यसपछि आएका शंकर राना ७ रनमै आउट भए । यससँगै ६.३ ओभरमा विराटनगर ३०÷४ को नाजुक अवस्थामा पुग्यो । पाँचौं विकेटका लागि साम हेजलेट र मार्चन्ट डे लाङ्गेबीच २८ रनको साझेदारी भयो । तर, १०औं ओभरमा जेजे स्मितले हेजलेटलाई ३४ रनमा क्याच गराउँदै ठूलो सफलता दिलाए ।

हेजलेटले २८ बलमा समान दुई चौका र छक्का हिर्काए । यो विकेटसँगै फेरि विराटनगर समस्यामा प¥यो । १५औं ओभरमा मार्चन्ट १७ रन बनाएर आउट भए । तल्लो क्रमका ब्याटर नरेन भट्टले २१ रन जोडे । उनले २१ बलमा एक चौका र दुई छक्का प्रहार गरे । त्यसबाहेक अन्य ब्याटर सस्तैमा आउट हुँदा लिगमा दोस्रो स्थानमा रहेको विराटनगर फाइनलमा पुग्न असफल भयो । लुम्बिनीको बलिङमा तिलक भण्डारीले तीन तथा अभिशेष गौतम, जेजे स्मित र ट्रम्पलमेनले समान दुई र शेर मल्लले एक विकेट लिए ।

शेरबाहेक सबैले किफायती बलिङ पनि गरे । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी पनि दबाबमा रह्यो ।पूरै ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन मात्र जोड्न सक्यो । ओपनर डार्सी सटले ४५ रन जोड्दै लुम्बिनीको कमजोर ब्याटिङमा साथ दिए । लुम्बिनीको सुरुआत राम्रो हुन सकेन । पहिलो ओभरमै ओपनर दिनेश अधिकारी १ रनमै आउट भए ।

तर, अर्का ओपनर डार्सीले अर्को छेउबाट इनिङ अगाडि । उनले दोस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ६९ रनको महत्वपूर्ण साझेदारी बन्यो । १२औं ओभरमा रोहित २९ रनमा पभेलियन फर्किए । उनले २२ बलमा चार चौका प्रहार गरे । लुम्बिनीको तेस्रो विकेटका रूपमा डार्सी नै आउट भए । यी तीनै विकेट सुवास भण्डारीले लिएका हुन् । १३.५ ओभरमा लुम्बिनी ९०÷३ को अवस्थामा थियो । त्यसपछि ट्रम्पलमेनले ११ रन जोडे ।

त्यसबाहेक अन्य ब्याटर चल्न सकेनन् । अन्तिम ३७ बलमा लुम्बिनीले ४४ रन मात्र जोड्यो । विराटनगरको बलिङमा सुवासले चार ओभरमा तीन विकेट लिँदा १४ रन मात्र दिए । प्रतीश जिसीले तीन र कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । सन्दीपले चार ओभरमा किफायती बलिङ गर्दै १८ रन मात्र दिए । तर, ब्याटिङ चल्न नसक्दा पहिलोपल्ट प्लेअफमा पुगेको विराटनगर फाइनलमा पुग्न सकेन ।