निलाई (डिसेम्बर):= मलेसियामा १६ वर्षीया स्थानीय किशोरीलाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेका ३१ वर्षीय बंगलादेशी पुरुषलाई मंगलबारदेखि सात दिनका लागि थुनामा राखिएको छ।
निलाई जिल्ला प्रहरी प्रमुख सुपरिन्टेन्डेन्ट जोहारी याह्याका अनुसार, आरोपीको रिमान्ड आदेश सेरेम्बान मजिस्ट्रेट अदालतका मजिस्ट्रेट फरहा सुलैम्यानले जारी गरेकी हुन्। “सन्देहीलाई डिसेम्बर ९ देखि १५ सम्म थुनामा राखिनेछ। मुद्दा दण्ड संहिता धारा ३७६ (बलात्कार) अन्तर्गत छानबिन हुँदैछ,” उनले स्थानीय मिडियालाई बताए।
यसअघि, १६ वर्षीया छोरी पेट दुखेको भन्दै क्लिनिक लगिएको बेला गर्भवती रहेको थाहा पाएपछि एक आमाको मन टुटेको समाचार बाहिर आएको थियो। छोरीलाई कार्यस्थलमै सहकर्मी बंगलादेशी नागरिकले बलात्कार गरेको शंका लागेपछि आमा-बुबाले गत मे महिनामा प्रहरीमा उजुरी दिएका थिए।
उजुरीपछि प्रहरीले आरोपीलाई गत सोमबार बिहान करिब ११:४४ बजे क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) को आगमन हलबाट पक्राउ गरेको पुष्टि गरिएको छ।




















