चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ नेपाली र हिन्दी भाषामा आउने।

काठमाडौं:= यही मंसिर १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ नेपाली र हिन्दी भाषामा आउने भएको छ । सबै प्रकारको दर्शकलाई मध्यनजर गर्दै चलचित्र हिन्दी र नेपाली दुई भाषामा रिलिज गर्न लागेको निर्माता विनोद पौडेलले बताउनुभयो ।

चलचित्रमार्फत अभिनेता कामेश्वर चौरसिया पहिलो पटक मुख्य भूमिकामा देखिँदै हुनुहुन्छ । थिएटर र चलचित्रमा दुई दशक बढी समय बिताउनुभएका उहाँ राम्रो कलाकारको रूपमा परिचित हुनुहुन्छ । कामेश्वरको अलावा यस चलचित्रमा लक्ष्मी बर्देवा, सरिता गिरी, किरण श्रेष्ठ, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायतको मुख्य भूमिका छ ।

सफल चलचित्र ‘पूर्ण बहादुरको सारंगी’का निर्माता बिनोद पौडेलको निर्माण रहेको यो चलचित्र सेभेन सिज सिनेमाको प्रस्तुति बनेको हो । सुशान्त गौतमको निर्देशन रहेको चलचित्रमा मुकेश खनालको लेखन छ । चलचित्र निर्माणमा पौडेललाई गुञ्जन गिरीले साथ दिनुभएको छ ।

विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेको यस चलचित्रका लाइन प्रोड्युसरमा जीवन शाक्य रहनुभएको छ । शरद महतोको डिओपी रहेको चलचित्रमा मदन घिमिरेको सम्पादक छ । चलचित्र भारत र विश्वव्यापी रूपमा प्रदर्शन हुँदैछ ।