महिनौँदेखि महाधिवेशन विवादमा रुमल्लिएको नेपाली कांग्रेसको महाधिवेशन अन्ततः पुस अन्तिममा।

काठमाडौं := महिनौँदेखि महाधिवेशन विवादमा रुमल्लिएको नेपाली कांग्रेस अन्ततः सहमतिनजिक पुगेको छ । आगामी पुस अन्तिममा महाधिवेशन गर्नेगरी सहमतिको तयारी भइरहेको प्रचार विभागका प्रमुखसमेत रहनुभएका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।

शीर्ष नेतृत्वबीच आइतबार भएको छलफलमा कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ गतेसम्म गर्ने सहमति भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुसको मसान्तमा महाधिवेशन गर्नेगरी सहमतिको हामी नजिक छौँ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा त्यो प्रस्ताव पेस हुँदै छ ।’

महाधिवेशन विवाद टुंग्याउन सभापति शेरबहादुर देउवासँग समन्वय गरिएको थियो । आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग छलफल गरी सहमतिमूलक कार्यतालिका प्रस्ताव तयार पार्नुभएको हो ।

स्रोतका अनुसार उक्त प्रस्ताव आज बस्ने केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले नै पेस गर्नुहुने छ । यसअघि महामन्त्री र सहमहामन्त्रीले छुट्टाछुट्टै प्रस्ताव पेस गर्नुभएको थियो । सहमतिको प्रस्ताव कार्यवाहक सभापतिकैमार्फत प्रस्तुत गर्ने सहमति बनेको बताइएको छ ।

प्रस्ताव छलफलका लागि नभई निर्णयार्थ पेस हुन लागेको स्रोतको भनाइ छ । ‘संसद्मा मन्त्रीले प्रस्ताव राख्ने र अन्त्यमा सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने जस्तै प्रक्रिया यहाँ लागू भएको हो’, स्रोतले भन्यो, ‘विमति आएमा मतविभाजनमार्फत निर्णय हुनेछ ।’ कार्यवाहक सभापति खड्काले आवश्यक नेताहरूसँग थप परामर्श गरी प्रस्तावलाई सर्वसम्मत बनाउन पहल जारी राख्नुभएको छ ।

कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर रस्साकस्सी चलिरहेको छ । खासगरी संस्थापन र इतर समूहबीच निर्वाचन अघि या पछि महाधिवेशन गर्ने भन्ने विवाद देखिएको छ । जसकारण डेढ महिनादेखि जारी केन्द्रीय समिति बैठक अनिर्णित बन्न पुगेको थियो ।