वैदेशिक रोजगारीमा जानेलाई नेपाल एयरलाइन्सको विशेष छुट।

काठमाडौं := नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)ले विभिन्न मुलुकमा रोजगारीमा जाने नेपाली यात्रुका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ । निगमले काठमाडौंबाट दमाम, दोहा, दुबई र क्वालालम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको हो ।

जसअन्तर्गत वैदेशिक रोजगारीमा जाने यात्रुको सहजताका लागि प्रत्येक उडानमा १० वटा सिटमा १० प्रतिशत विशेष सहुलियत प्रदान गरिने निगमले जनाएको छ। श्रम गन्तव्यमा यात्रा गर्नेले आवश्यक कागजातसहित निगमका नेपालस्थित टिकट काउन्टरबाट उक्त सेवा लिन सक्नेछन् । नयाँ योजनाले विदेश जाने श्रमिकलाई थप सुविधा र सहयोग मिल्ने निगमको विश्वास छ ।