विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा विलय हुने।

काठमाडौं := वैकल्पिक राजनीतिको जग बसालेको विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा विलय हुने भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गरी सुसंस्कृत समाज निर्माण गर्ने उद्देश्यले स्थापित विवेकशील साझा १३ वर्षमै आफ्नो अस्तित्व त्यागेर रास्वपामा विलय हुने भएको हो । रास्वपासँग एकता गरेसँगै तत्कालीन विवेकशील नेपाली र साझा पार्टीको पुरानै अस्तित्वमा रहने छैनन् ।

यसअघि दुई-दुई पटक विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएर विवेकशील साझा पार्टी बनेको थियो । विवेकशील साझा पार्टी रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकारी निःसर्त एकतामा गएको हो । रास्वपा र साझा पार्टीबीच आज (आइतबार)एकता घोषणा हुने भएको छ । दिउँसो २ बजे राष्ट्रियसभा गृह प्रदर्शनीमार्गमा एकता घोषणा सभाको आयोजना गरिएको छ ।

चुनाव र सत्तामा गएर मात्र परिवर्तन हुँदैन भन्ने सन्देश दिँदै उज्ज्वल थापा (हाल स्व.)ले विवेकशील अभियान सुरु गर्नुभएको थियो । पहिलो संविधानसभा विघटनपछि ‘ज्याला पूरा लियौँ, अब संविधान देऊ’ अभियान हुँदै सुरु भएको विवेकशील नेपाली अन्ततः १३ वर्षपछि रास्वपामा विलय हुने भएको हो । समीक्षा बाँस्कोटा अध्यक्ष र रञ्जु दर्शना महासचिव रहेको पार्टीको केन्द्रीय समिति बैठकले बुधबार रास्वपासँग एकीकरण गर्ने निर्णय पारित गरेको थियो ।

पूर्वअध्यक्ष मिलन पाण्डे, नेता रमेश पौड्याल, उज्ज्वल थापा फाउन्डेसनमा रहेका आशुतोष तिवारी, आलोक सुवेदी, युवा संगठनका पूर्वअध्यक्ष सरोज गौतम, अध्यक्ष युजन राजभण्डारीलगायत नेताहरू भने एकीकरणमा सामेल छैनन् । उपाध्यक्ष तथा पूर्वसंयोजक पाण्डेले रास्वपासँग एकता गर्ने निर्णयलाई सकारात्मक रूपमै लिनुपर्ने बताउँदै वैकल्पिक शक्तिहरू एकताबद्ध भएर विस्तार गर्नुलाई अन्यथा लिन नमिल्ने बताउनुहुन्छ । तर, पाण्डेले आफू एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट पर्नुभएको छ ।

२०७९ सालको निर्वाचनअघि रवि लामिछाने नेतृत्वको रास्वपा स्थापना भएको थियो । चुनावअघि मात्रै स्थापनाको भएको रास्वपाले चुनावमा अप्रत्यासित मत ल्याएर चौथो ठूलो दल बनेको थियो । स्थापनको छोटो समयमै रास्वपाले पनि धेरै उतारचढावको सामना गरेको छ । छोटो समयमा राम्रो मत ल्याएर पूरा दलहरूलाई धक्का दिएको रास्वपा अहिले आफैँ पनि दलदलमा फस्न थालेको छ ।

स्वयं सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद र मन्त्री पदसमेत गुमेपछि पुनः निर्वाचित हुनुपरेको थियो । त्यसपछि सहकारीको रकम हिनामिना प्रकरणमा उहाँ कारागारमा हुनुहुन्छ । ‘जेन–जी’ आन्दोलनपछि रास्वपामा पनि रूपान्तरण र पुनर्गठनको विषय उठेको थियो । आफ्नो कुरा सुनुवाइ नभएपछि संस्थापक डा. मुकुल ढकालले पार्टी परित्याग गर्नुभएको थियो । ‘जेन-जी’ आन्दोलनपछि मात्रै रास्वपा नेतृ सुमना श्रेष्ठ र सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको थियो । तर, रास्वपामा अझै पनि केही नेता असन्तुष्ट छन् ।

अभियान, दल र एकता-विभाजनको शृंखला

अध्ययनका क्रममा अमेरिका रहनुभएका स्व. उज्ज्वल थापाले २०६३/६४ तिर स्वदेश फर्किएपछि विवेकशील नेपाली अभियान सुरु गर्नुभएको थियो । थापाले ‘नेपाल बन्द छैन’, ‘तोडफोड र हत्या हिंसाको राजनीति बन्द गरौँ’ जस्ता नारासहित राजनीतिक वातावरणलाई शान्त र सुसंस्कृत बाटो देखाउने अभियान चलाउनुभयो । स्वास्थ्य, शिक्षालगायत राज्यका हरेक तहमा सबैको समान पहुँच हुनुपर्छ भन्ने लोकप्रिय नारा उहाँले अघि बढाउनुभयो ।

२०६९ साल जेठ १५ गते उहाँले विवेकशील नेपाली पार्टी स्थापना गर्नुभएको थियो । २०७० सालको संविधानसभा निर्वाचनमा पार्टीको तर्फबाट चारजना स्वतन्त्र उम्मेदवार उठाएका थिए । उम्मेदवारले उल्लेखीय मत प्राप्त गर्न नसके पनि वैकल्पिक नयाँ शक्तिको दियो बाल्ने काम गरेको थियो ।१५ जेठ २०६९ मा पहिलो संविधानसभा भंग भएपछि थापा, गोविन्द नारायण र पुकार बमहरूले दबाबमूलक अभियान चलाएका थिए ।

त्यसबेला उनीहरूले दलहरू संविधान दिनलाई असफल भएपछि अब के गर्ने ? भनेर संवाद शृंखला चलाएका थिए । छलफलकै बीचबाट २०६९ मा विवेकशील नेपाली मञ्च गठन भएको थियो । त्यसबेला विवेकशीलका नेताले ‘युवा अघि सर्छ, देश अघि बढ्छ’, ‘हामीले नगरे कसले गर्ने’ जस्ता नारा अघि सारेका थिए ।

२०७४ सालमा विवेकशीलबाट काठमाडौं महानगरमा रञ्जु दर्शनाले २३ हजार ७३९ मत ल्याउनुभएको थियो भने पत्रकारिता छाडेर राजनीतिमा होमिनुभएका रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीका उम्मेदवार किशोर थापाले १८ हजार ४६९ मत ल्याउनुभएको थियो । त्यसपछि वैकल्पिक शक्ति एकठाउँमा हुनुपर्ने मत बलियो भएपछि विवेकशील र साझा पार्टीबीच २७ पुस २०७५ मा एकीकरण भएको थियो । तर, त्यो लामो समय टिक्न सकेन ।

कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै थापाले २०७५ पुसमा रञ्जु दर्शना, विराजभक्त श्रेष्ठ, रमेश पौडेलसहित नयाँ दल दर्ता गर्नुभएको थियो । मिलन पाण्डे नेतृत्वमा भएका बेला दोस्रोपटक मिश्र नेतृत्वको साझा पार्टीसँग २०७७ मंसिरमा एकीकरण भयो । यद्यपि, अध्यक्ष मिश्रले राजसंस्थाको वकालत गर्दै मार्ग परिवर्तन दस्ताबेज ल्याएपछि फेरि विवेकशील छिन्नभिन्न भएको थियो । पछि २०७९ मा समीक्षा बाँस्कोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।