क्वालालम्पुर (मलेसिया): वैदेशिक रोजगारीको सिलसिलामा १६ वर्षअघि मलेसिया आइपुगेका, नेपाल ठेगाना रुपन्देही, सारदा–८ निवासी मान बहादुर परियार हाल स्वास्थ्य समस्या बढेपछि स्वदेश फर्किन चाहन्थे। तर आर्थिक अभावका कारण उनी गम्भीर समस्यामा परिरहेका थिए।
एकदिन कम्पनीमा आफूले सोचेजस्तै सेवा–सुविधा नपाएपछि कम्पनी छाडी भागेर अवैधानिक रूपमा बस्दै काम गर्न बाध्य रहेका परियार अन्ततः बिरामी परेपछि घर फर्कनेबाहेक विकल्प देखेनन्। तर समस्या त्यहीँ आर्थिक पाटो थियो। मान बहादुर परियारको लागि नेपाल फर्कन आवश्यक पर्ने कागजात, एकतर्फी यात्रा अनुमतिपत्र अर्थात् “ट्रभल्स डकुमेन्ट” नेपाली राजदूतावासले निःशुल्क जारी गरी कागजी प्रक्रियाका लागि अध्यागमनमा सहजीकरण गरिदिएको हो।
परियारलाई स्वदेश फर्काउन प्रवासी नेपाली समन्वय समिति (PNCC) मलेसियाका संयोजक पूर्ण सुब्बाले सरकारी निकाय लगायत ठाउँमा सक्रिय पहल गरे। संयोजक सुब्बाले गोर्खा एसोसिएसन मलेसियाका अध्यक्ष रोशन रानासँग समन्वय गरेपछि अध्यक्ष रानाले मान बहादुरलाई निःशुल्क हवाई टिकट उपलब्ध गराइदिए।
अध्यक्ष रोशन राना, जो मलेशियामा बसोबास गर्ने नेपाली समुदायका सफल व्यवसायी तथा समाजसेवी हुन्, उनी नेपालीभाषी मलेसियन नागरिक बलबहादुर रानाका कान्छा छोरा पनि हुन्। नेपाल र नेपालीप्रति अत्यन्तै समर्पित रानाले यसअघि पनि मलेसियामा रहेका श्रमजीवी नेपाली दाजुभाइ–दिदीबहिनीलाई स्वास्थ्य, दुर्घटना वा अन्य आपत्विपत्मा निरन्तर सहयोग गर्दै आएका छन्। नेपालमा हुने दैवी प्रकोप लगायतका विपत्तिमा समेत उनले उल्लेखनीय सहयोग प्रदान गर्दै आएका छन्।
निशुल्क टिकट प्राप्त गरेपछि मानबहादुर परियार २७ नोभेम्बर २०२५ मा हिमालयन एयरलाइन्स मार्फत नेपाल फर्किएका छन्। अध्यक्ष राना भन्छन्, “नेपाल र नेपालीका लागि जहाँ , जे जति सकिन्छ, निरन्तर आर्थिक भौतिक सहयोग गरिरहनेछु।”




















