काठमाडौं := बेला बखत आफ्नो विवादित बोली र पार्टी परिवर्तन गरिरहने कारणले चर्चामा रहिरहने पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन्। शुक्रवार आफ्नै गाउँका महिलाहरुले उनीमाथि हातपात गरेको आरोप छ।
दाङ जिल्ला राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथि हातपात गर्न जाइलागेपछि अन्य महिलाले उनीमाथि हातपात गरेका थिए। उनले पनि आफूमाथि हातपात भएको भन्दै हातपात गर्ने महिलाहरुविरुद्ध मुद्दा दायर गर्ने चेतावनी पनि दिएकी छन्। उनले आफूमाथि हातपात गर्नेहरू माओवादीका कार्यकर्ता भएको आरोप लगाएकी छन्।
‘मलाई कुट्ने माओवादीका कार्यकर्ता हुन्। सबैलाई मैले चिनेकै छु। मलाई लछारापछार पारे। मेरो घुँडामा चोट लागेको छ,’ उनले भनिन्, ‘मेरो मंगलसुत्र पनि हरायो लुटेर लगे।’ उनले आफूमाथि कुटपिट भएको र गहना हराएको बारे स्थानीय प्रहरी चौकीमा उजुरी दिइसकेको पनि बताइन्।
उनले मात्रै होइन अन्य महिलाहरूले पनि उनीविरुद्ध प्रहरीमा उजुरी दिइसकेका छन्। सडकको जग्गा सीमा विवादमा उनी र उनका छिमेकी बीच विवाद हुँदा हात हालाहालको अवस्था भएको बुझिएको छ।




















