पिएनसिसिको पहल र ओखलढुंगा एकता सेवा समाजको हवाई टिकट सहयोगमा खड्का स्वदेश फिर्ता।

क्वालालम्पुर (मलेसिया):= नेपाल ठेगाना उदयपुरको ठोक्सिला–०९ निवासी काजीमान खड्का मलेसियामा भिसा नभएको कारण अवैधानिक मुद्दामा पक्राउ परी जेल सजाय भोगी सकेका थिए। तर परिवारले एकतर्फी हवाई टिकट उपलब्ध गराउन नसक्दा उनी घरफिर्ती केन्द्रमै बस्दै आएका थिए।

निजको स्वदेश फिर्ती प्रक्रिया सहज बनाउन प्रवासी नेपाली समन्वय समिति (PNCC) मलेसियाका संयोजक पुर्ण सुब्बा लिम्बुले ओखलढुंगा एकता सेवा समाजका संरक्षक हिरालाल दयाल र अध्यक्षसँग समन्वय गरेका थिए। सोही समन्वयपछि ओखलढुंगा एकता सेवा समाजले काजीमान खड्काका लागि निशुल्क एकतर्फी हवाई टिकट उपलब्ध गराएको थियो।

सन् २०१६ मा स्थापना भएको ओखलढुंगा एकता सेवा समाजले स्थापना यता निरन्तर सामाजिक तथा मानवीय सहयोग गर्दै आएको छ। विदेशमा समस्यामा परेर स्वदेश फर्किन नसकेकाहरूलाई सहयोग गर्नुका साथै नेपालमा प्राकृतिक प्रकोप, विपद् तथा गम्भीर रोगका कारण उपचार गर्न नसक्ने पीडितहरूलाई समेत सहयोग पुर्‍याउँदै आएको र संस्थाले भविष्यमा पनि सामाजिक सेवामा सक्रिय रहि सहयोग पुर्याने जनाएको छ।

हवाई टिकट उपलब्ध भएपछि काजीमान खड्का २७ नोभेम्बर २०२५, साँझ ६:१० बजे, बातिक एयरमार्फत नेपाल फर्किएका हुन्। संस्थाका अध्यक्ष ढाकाहरी अधिकारीका अनुसार, ओखलढुंगा एकता सेवा समाजले यस्ता मानवीय कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउँदै लैजाने प्रतिबद्धता जनाइएको छ।